© 2026
काठमाडौँ । सरकारले लाइसेन्स, राहदानी (पासपोर्ट) र नागरिकता जस्ता महत्त्वपूर्ण प्रमाणपत्रहरू नागरिकको घरमै डेलिभरी गर्ने व्यवस्था गर्ने भएको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर २७ मा आधारित यो योजना अघि सारिएको हो ।
योजनाअनुसार हालको हुलाक सेवालाई पूर्ण रूपमा आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’ को रूपमा विकास गरिनेछ । यो सेवामार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सरकारी कागजात र सामग्रीहरू सुरक्षित रूपमा नागरिकको घरमै पुर्याउने सुनिश्चित गरिनेछ ।
सरकारले यो व्यवस्था आगामी १०० दिनभित्रै लागू गर्ने लक्ष्य राखेको छ ।
प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई चुस्त बनाउन र नागरिकलाई सास्तीमुक्त बनाउन यो कदम चालिएको सरकारले जनाएको छ ।
हालसम्म लाइसेन्सका लागि वर्षौं र राहदानीका लागि हप्तौँ कुर्नुपर्ने तथा कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता छ । यो व्यवस्था लागू भएमा अनलाइनबाट आवेदन दिएपछि तयार भएका कागजात कुरियरमार्फत सिधै घरमै प्राप्त हुनेछ ।
यसले सरकारी सेवामा नागरिकको पहुँच सहज बनाउने, समयको बचत गर्ने र प्रशासनिक झन्झटलाई अन्त्य गर्ने विश्वास लिइएको छ । सरकारको यो निर्णयले विशेष गरी दुर्गम क्षेत्रका र व्यस्त नागरिकहरूलाई ठूलो राहत पुग्ने देखिन्छ ।