Butwal Today

गुल्मीमै पहिलो स्तन क्यान्सर शल्यक्रिया सफल

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

गुल्मी । गुल्मी अस्पतालमा पहिलो पटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । विशेषज्ञ सेवा अभावका बिच पनि अस्पतालले बाह्य विशेषज्ञ टोलीको सहयोगमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

रेसुङ्गा नगरपालिका–८ निवासी ७१ वर्षीया तुल्सी विश्वकर्मालाई स्तन क्यान्सर देखिएपछि प्रारम्भिक उपचारका लागि गुल्मी अस्पतालमा चेकजाँच गरिएको थियो ।

थप उपचारका लागि उनलाई बुटवल रिफर गरिए पनि आर्थिक अवस्था कमजोर भएकाले बाहिर उपचार सम्भव नभएपछि पुनः गुल्मी अस्पतालमै शल्यक्रिया गरिएको गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए ।

अस्पतालले मासिक रूपमा लुम्बिनी प्रादेशिक अस्पतालबाट विभिन्न रोगका विशेषज्ञ चिकित्सक बोलाउने व्यवस्था गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत आएका क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डेको नेतृत्वमा तीन जना चिकित्सकको टोलीले तुल्सी विश्वकर्माको सफल शल्यक्रिया गरेको हो ।

अस्पतालका अनुसार शल्यक्रिया पूर्ण रूपमा सफल भएको छ । बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । शल्यक्रियामा संलग्न विशेषज्ञ डा. सञ्जय पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि गुल्मी अस्पतालमा यस्ता जटिल सेवा दिन सफल भएको बताए ।

उनले क्यान्सरजस्तो जटिल रोगको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति सीमित हुँदाहुँदै पनि हामीले यहाँ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताए ।

समयमै पहिचान र उपचार हुन सके बिरामीको ज्यान बचाउन सकिन्छ भन्ने यो उदाहरण भएको पाण्डेको भनाइ छ । शल्यक्रियापछि तुल्सी विश्वकर्माले आफ्नै जिल्लामै उपचार पाउँदा निकै खुसी लागेको बताइन् ।

बाहिर गएर उपचार गर्ने अवस्था नभएकाले यहीँ निःशुल्क रूपमा उपचार पाउँदा जीवन नै बाँचेजस्तो लागेको बताइन । शल्यक्रिया पछि पुनः अस्पतालमा पुगेर व्यवस्थापन र डाक्टरहरूलाई धन्यवाद दिइन् ।

गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले सीमित भौतिक संरचनाका बिच पनि अस्पतालले उच्चस्तरीय सेवा दिन प्रयास गरिरहेको बताए । नयाँ भवन नबनेको कारण हामी साँघुरा कोठाबाट पनि यस्ता खालका सेवा दिन सफल भएको बताए । अहिले गुल्मी अस्पतालमा हाडजोर्नी र बालरोग विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।

अस्पतालमा मिर्गौला पीडित बिरामीको लागि हेमोडाइलाइसिस सेवा प्रदान हुँदै आएको छ । यसले गुल्मी अस्पतालमा सेवा ग्रहीको चाप बढ्दै गएको छ । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले ग्रामीण क्षेत्रमै विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको बताए ।

अस्पतालको भौतिक संरचना अझै पर्याप्त नहुँदा नहुँदै पनि जटिल रोगका बिरामी उपचार जिल्लामै सम्भव हुन्छ भन्ने परिणाम दिन खोजेको पाण्डेले बताए ।

नयाँ भवन निर्माण नहुँदा केही समस्या भए विशेषज्ञ सेवा दिन तत्पर भइरहेको उनले बताए ।सफल शल्यक्रियामा संलग्न विशेषज्ञ डा. सञ्जय पाण्डेसहित तीन सदस्यीय चिकित्सक टोलीलाई गुल्मी अस्पताल विकास समितिले सम्मान गरेको छ ।

सफल उपचार प्राप्त गरेकी बिरामी तुल्सी विश्वकर्मालाई पनि अस्पताल प्रशासन र चिकित्सक टोलीले सम्मान गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

गुल्मी अस्पतालमा विशेषज्ञ चिकित्सकको स्थायी व्यवस्था नहुँदा यस्ता सेवा नियमित रूपमा उपलब्ध हुन सकेको छैन । तर, मासिक रूपमा बाह्य विशेषज्ञ टोली ल्याउने पहलले जिल्लामै जटिल रोगको उपचार सम्भव हुन थालेको छ ।

आर्थिक रूपमा कमजोर बिरामीका लागि यस्तो सेवा जीवनदायी सावित हुँदै गएको छ । अहिले गुल्मी अस्पतालको साढे पाँच तलाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?