© 2026
जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा खुर्पा प्रहारबाट एक जनाको हत्या भएको छ ।
स्थानीय ३२ वर्षीय सुमन चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका ४५ वर्षीय उदय अधिकारीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हिजो दिउँसो करिब ११ः४५ बजेदेखि १२ः२० बजेको बीचमा मानसिक अवस्था ठीक नभएका चौधरीमाथि धारिलो हतियार खुर्पा प्रहार गरिएको थियो । गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि पिपरा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो । उपचारकै क्रममा साँझ करिब पौने ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य र प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहसहितको टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा शंकास्पद देखिएका उदय अधिकारीलाई नियन्त्रणमा लिइएको र सोधपुछका क्रममा उनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले लुकाइराखेको अवस्थामा हत्यामा प्रयोग गरिएको खुर्पा समेत बरामद गरिएको छ ।
पक्राउ परेका अधिकारीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उनलाई जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी थप कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् ।