© 2026
गत साता परेको पानीले बुटवल–नारायणगढ सडक खण्ड दिनभरि जाम भयो ।
हजारौैं यात्रुले सास्ती पाए । मौसमबीदले फेरी शुक्रबार र शनिबार पानी पर्ने प्रक्षेपण गरेका छन् । अव फेरीपनि उक्त सडक अवरुद्ध हुने निश्चित छ । त्योमात्रै होइन, अव कति दिन फेरी यात्रुको सास्तीको दिन सुरु हुनेछ ।
यसरी बुटवल नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्र यात्रु सास्ती मार्ग बन्दै छ । यो सडक निर्माण कार्यमा ढिलाई भैरहेको बेला आज मुलुकले नयाँ सरकार पाउँदैछ ।
अव बालेन नेतृत्वको सरकारले यो सडकको निर्माणको काम तत्काल सम्पन्न गर्नेतर्फ ध्यान देओस् । दाउन्ने खण्डको निर्माण पूरा नभएको अवस्थामा आगामी असार साउनमा यो सडकमा यात्रा गर्न नसकिने अवस्था हुनेछ ।
तसर्थ अझै कति म्याद थप्ने ? अव तत्काल दाउन्ने सडक सम्पन्न गर्नेतर्फ ध्यान जाओस् । यद्यपि आयोजनाका अनुसार आउँदो बर्खा अगाडि नै दाउन्ने खण्डको १३ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य अनुसार काम भइरहेको छ ।
दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नु परेकाले यो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गर्नेतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । धेरैपटक निर्माण व्यवसायीले आश्वासन मात्रै दिएका छन् ।
दाउन्ने क्षेत्रको काम भने कछुवा गतिबाट अघि बढ्न सकेको छैन । यद्यपि अरू क्षेत्रको काम करिव सम्पन्न भैसकेको अवस्था छ । वि.सं. २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाएपनि निर्माणमा ढिलासुस्ती हुँदा कूल ११३ किलोमिटर सडक सम्पन्न नसक्नु दुःखको कुरा हो ।
बुटवल नारायणगढ सडक खण्ड निर्माणमा भएको लापरवाहीले त्यस क्षेत्रका जनता विगत ७ बर्षदेखि चरम पीडा सहन बाध्य छन् । सडक समयमै सम्पन्न गर्न दवाव दिने उद्देश्यले स्थानीय जनताले थुप्रैपटक सडक बन्द गरे ।
आन्दोलनको आँधीबेहरी सिर्जना गरे तर सडक निर्माणको काम कछुवा गतिमा भैरहेको थियो । पछिल्लोसमय धेरै काम सम्पन्न भएको छ । तर, बाँकी कामपनि सम्पन्न नगरि ढिलाई गर्ने मनसाय देखिन्छ ।
अव यो सडक दुईपटक थपिएको समयभित्र त बन्न सक्दैन भने फेरी म्याद थप गर्ने काम नहोस् । आयोजनाको समय लम्ब्याउँदा लागत बढ्ने र लागत बढ्दा सवैतिर कमिसन बढ्ने चक्करमा निर्माणको काम समयमै सम्पन्न नहुने व्यापक गुनासो छ ।
यो सडकमात्रै होइन, यस्ता धेरै सडक उदाहरण छन् जसको लागत बढाउने नाममा निर्माणमा ढिलाई हुने गरेको छ । आजदेखि मुलुकले नयाँ सरकार पाउँदैछ । रास्वपाका वरिष्ठ नेता बालेनले मुलुकको नेतृत्व गर्दैछन् । अतः नयाँ सरकारले पनि पुरानै अवस्थाको सिर्जना नगरोस् । यो सडक समयमै नबन्दा लाखौं यात्रुले सास्ती पाएका छन् ।
सयौं सवारीका साधन बिग्रिएको अवस्था छ । तसर्थ अव निर्माण व्यवसायीले साउनभित्रै सडक पूरा गर्न सकेन भने फेरीपनि म्याद थप गर्ने काम नहोस् । बालेन सरकारले यो विषयमा एउटा ठोस निर्णय गरोस ।
दुई महिनापछि सुरु हुने बर्षामा यात्रुले सास्ती पाउने अवस्था अन्त्य होस् । बुटवल नारायणगढ सडक खण्डका स्थानीयले सडक समयमै सम्पन्न गर्न दवाव दिने उद्देश्यले गरेको सडक जाम अव फेरी गर्न नपरोस् ।
बालेन सरकारको काम यो सडकको सवालमा सुरुमै देखापरोस् । निर्माण व्यवसायीले दाउन्ने सडकको काम जसरी हुन्छ, बर्षा अघि नै सम्पन्न गर्नेतर्फ ध्यान देओस् । होइन भने बालेन सरकारले म्याद थप्ने काम नगरोस् ।
नयाँ सरकार बन्दै गर्दा यो सडकको काम कहिले सम्पन्न हुन्छ भन्ने विषयलाई लिएर लाखौं जनताको ध्यानाकर्षण भएको छ । अतः तत्काल कामको गति बढाएर निर्धारित मितिभित्रै काम सम्पन्न होस् ।