© 2026
विद्यार्थीहरू यति बेला एसइईको तयारी गरिरहेका छन् । निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूको वार्षिक परीक्षा चलिरहेको छ ।
यसरी विद्यार्थीहरू अन्तिम परीक्षाको तयारीमा रहेको बेला बुटवलमा सुरु भएको महामेलाले हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ । महामेलाको नाममा रातीसम्म हुने हल्ला र ध्वनि प्रदूषणले विद्यार्थीको पढाइमा ठुलो असर गरेको छ । अध्ययनका लागि विद्यार्थीलाई शान्त वातावरण चाहिन्छ ।
घर परिवारमै यदाकदा हुने हल्लाले विद्यार्थीको पढाइमा असर परिरहेको अवस्थामा बुटवल सहर घन्काउने गरि भइरहेको महामेलाले विद्यार्थीको भविष्यमाथि गम्भीर खेलबाड भइरहेको छ ।
विद्यार्थीसँगै स्थानीय बासिन्दा समेत महामेलाको आतङ्कबाट आजित बनेका छन् । चैत १ गतेदेखि सुरु भएको २४ दिने ‘महामेला’ आयोजकले विद्यार्थीको पढाई र परिक्षामा असर नहुने गरि मिति जुराएको भए आपत्ती हुने थिएन तर जानीजानी विद्यार्थीको परिक्षामा असर पु¥याउने गरि सुरु भएको महामेला कुनैपनि अवस्थामा स्वीकार्य हुन सक्दैन् ।
हजारौँ बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने काम कुनैपनि अवस्थामा राम्रो होइन् । तसर्थ महामेला आयोजकले मेलाको नाममा सुरु गरेको मनोरञ्जन नामको ध्वनि प्रदुषणको आतङ्क तुरुन्त वन्द गरोस् ।
स्थानीय बासिन्दाले समेत यो महामेला मनोरञ्जनभन्दा बढी सास्तीको विषय बनेको भन्दै तत्काल महामेला बन्द गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकारले वि।सं। २०६८ साल जेठ ११ गतेदेखि लागू हुनेगरी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको सर्वविदितै छ । शान्ति क्षेत्र घोषणाको मूल भावना अनुसार विद्यालय वरिपरि अध्ययनमा असर पर्ने गरि कुनैपनि कार्यक्रम, भेला, आमसभा, मेला, महोत्सव गर्न पाईदैन ।
तर प्रशासनले महामेला गर्न दिएको स्वीकृतिले सरकारी घोषणाकै मानमर्दन गरेको छ । मेला, प्रदर्शनी आयोजना गर्नु नराम्रो होइन तर यसको पनि समय र सिमा हुन्छ । बेमौसममा महामेला गरेर आयोजकलाई मौसमविनाको बर्षात गर्ने अधिकार छैन् । अहिले भइरहेको महामेलाको न कुनै समय सान्दर्भिक औचित्य छ, न त यसको सन्देश वा महत्व ।
कुनै एक संस्था वा व्यक्तिको आर्थिक लाभको लागि हजारौँ विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने छुट कसैलाई छैन् । आयोजकले तोकिएको समय सीमा र मापदण्ड पालना नगर्दा उक्त क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
मेलाबाट निस्कने ठुलो आवाज र राति अबेरसम्म हुने होहल्लाले बालबालिकाको पढाइमा गम्भीर बाधा पुगेको छ ।
मेला आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले जिल्ला प्रशासन कार्यालयबाट राति ९ बजेसम्म मात्र मेला सञ्चालन गर्ने अनुमति लिएको थियो । तर, व्यवहारमा मेला राति साढे ११ बजेसम्म निर्बाध चलिरहेको छ ।
राति अबेरसम्म मेला चल्दा ध्वनि प्रदूषण मात्र नभई वरिपरी क्षेत्रको शान्ति सुरक्षामा समेत चुनौती थपिएको छ । मध्यरातसम्म हुने मानिसहरूको आवतजावत र होहल्लाले स्थानीय बासिन्दाले राम्रोसंग निदाउन समेत नपाएको गुनासो गरेका छन । विद्यार्थीको पढाइमा बाधा पुग्ने गरि महामेला आयोजना गर्न स्वीकृति दिनु प्रशासनको अदूरदर्शिता हो ।
प्रशासनले मेला आयोजना हुँदै गर्दा त्यसले स्थानीय जनतामा पर्ने प्रभाव, बालबालिकाको अध्ययनमा पर्ने असर, वातावरण प्रदुषण र स्थानीय शान्ति सुरक्षामा कुनै खलल पर्छ कि पर्दैन भन्ने सवै कुराको वस्तुस्थिति बुझ्नुपर्ने हो ।
तर, प्रशासनबाट पनि लापरवाही गरेको देखियो । अर्कोतर्फ बुटवल उपमहानगरपालिकाले हरेक बर्ष शैक्षिक क्यालेण्डर बनाउँछ । सोही अनुसार परीक्षाको मिति निर्धारण हुन्छ । तर, परिक्षाकै बेला बुटवलकै मुटुमा विद्यार्थीको परिक्षामाथि सिधै असर पुग्नेगरि महामेला हुँदैगर्दा कम्तिमा बुटवल उपमहानगरले यो बिषयमा चासो राख्नुपर्ने हो ।
विद्यार्थीको परीक्षाको संवेदनशीलताप्रति जनप्रतिनिधिहरूको ध्यान पुग्नुपर्ने हो । अतः विद्यार्थीको पढाई र परिक्षामाथि प्रत्यक्ष असर पुगेकोले महामेला बन्द गर्नु सवैभन्दा उत्तम उपाय हो ।
कसैको उद्देश्य पूरा गर्ने नाममा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम हुनुहुँदैन । बुटवल उपमहानगरपालिका र जिल्ला प्रशासनको तत्काल ध्यान जाओस् ।