Butwal Today

बुटवलको ‘महामेला’ ले निम्त्यायो सास्ती, राति अबेरसम्मको होहल्लाले स्थानीय र विद्यार्थी मर्कामा

११ चैत्र २०८२, बुधबार
अ+
अ-

बुटवल । बुटवलमा चैत १ गतेदेखि सुरु भएको २४ दिने ‘महामेला’ स्थानीय बासिन्दा र विद्यार्थीका लागि मनोरञ्जनभन्दा बढी सास्तीको विषय बनेको छ ।

आयोजकले तोकिएको समय सीमा र मापदण्ड पालना नगर्दा यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । हाल विद्यालयहरूको वार्षिक परीक्षा चलिरहेको छ भने माध्यमिक शिक्षा परीक्षा (एसइई) समेत नजिकिँदै छ ।

यस्तो संवेदनशील समयमा मेलाबाट निस्कने ठूलो आवाज र राति अबेरसम्म हुने होहल्लाले बालबालिकाको पढाइमा गम्भीर बाधा पुगेको छ । “परीक्षाको तयारी गर्नुपर्ने बेला बाहिरको चर्को म्युजिकले एकाग्र हुन सकिएको छैन,“ एक स्थानीय अभिभावकले गुनासो गरे ।

मेला आयोजक फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले जिल्ला प्रशासन कार्यालयबाट राति ९ बजेसम्म मात्र मेला सञ्चालन गर्ने अनुमति लिएको थियो । तर, व्यवहारमा मेला राति साढे ११ बजेसम्म निर्बाध चलिरहेको छ ।

राति अबेरसम्म मेला चल्दा ध्वनि प्रदूषण मात्र नभई क्षेत्रको शान्ति सुरक्षामा समेत चुनौती थपिएको छ । मध्यरातसम्म हुने मानिसहरूको आवतजावत र होहल्लाले स्थानीय सुरक्षा व्यवस्थालाई समेत प्रभावित पारेको छ ।

आशातीत सफलता पाउन नसकेको यस मेलामा दर्शकहरूको उपस्थिति निकै न्यून देखिएको छ । त्यसमाथि पछिल्लो समय चलेको हावाहुरीको वितण्डाले मेलाको पूर्वाधारमा क्षति पु¥याउनुका साथै कार्यक्रमलाई फितलो बनाएको छ ।

मेलामा प्रस्तुति दिन आएका कलाकारहरू र अवलोकनका लागि पुगेका थोरै सङ्ख्याका दर्शकहरू समेत फितलो व्यवस्थापन र प्रतिकूल मौसमका कारण निराश बनेका छन् ।

मेला उद्घाटन भएको अर्को दिन सोमबार दिउँसो आएको हावाहुरी र वर्षाले महामेलामा क्षति पु¥याएपछि सोमबार दिउसोदेखि मंगलबार दिउँसोसम्म मेला रोकिएको थियो । मेलामा विभिन्न प्रकारका १२० वटा स्टल रहेका छन् । तर अपेक्षित दर्शकहरू नआएका कारण स्टलधननीहरू समेत निराश बनेका छन् ।

“सोंचे अनुसार व्यापार नहुँदा निराश तुल्याएको छ, अपेक्षित दर्शक सहभागिता देखिएको छैन”– एक स्टल धनीले भने ।
बढ्दो जनगुनासोपछि प्रशासनले यस विषयमा चासो देखाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बालबालिकाको भविष्य र परीक्षालाई ध्यानमा राख्दै मेलाको समय र ध्वनि नियन्त्रणमा कडाइ गरिने बताए । ‘बालबालिकाको पढाइ प्रभावित हुने गरी कुनै पनि गतिविधि गर्न पाइँदैन, हामी यसलाई नियन्त्रण गर्छौँ,’ उनले भने ।

बजारको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले आयोजना गरिए पनि नियमको पालना नहुँदा ‘महामेला’ अहिले आलोचनाको घेरामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?