Butwal Today

‘सहकारी पीडितले न्याय पाउन’

१० चैत्र २०८२, मंगलवार
अ+
अ-

यही चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को नेतृत्वमा नयाँ सरकार बन्दै छ ।

नयाँ सरकारप्रति निश्चित रूपमा धेरैको आशा र अपेक्षा होला । सरकारले राम्रो गरे हुन्थ्यो भन्ने सदाशयता राख्ने नेपालीको कमी छैन । किनभने जुन कुनै सरकार आए पनि नेपाली जनतालाई विकास र सुशासन चाहिएको छ ।

एउटा ठुलो जमात पनि छ जसले बालेन सरकारप्रति पर्ख र हेरको अवस्थामा छ । अर्थात् सहकारी पीडितहरू नयाँ बालेन सरकारबाट न्याय पाउने आशा र विश्वासमा छन् । उनीहरूले काठमाडौँमा दैनिक जसो प्रदर्शन गरिरहेका छन् ।

उनीहरूको एउटै प्रश्न छ– सहकारीमा पसिना चुहाएर जम्मा गरेको पैसा कहिले फिर्ता हुन्छ ? यही प्रश्नको उत्तर बालेनको नेतृत्वमा नयाँ बन्ने सरकारले लगत्तै दिनुपर्दछ । पैसा राखेका बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ ?

यो प्रश्नको उत्तर विगत केही बर्षदेखि खोजीरहेका बचतकर्ताहरू अव नयाँ सरकारको आशामा बसेका छन् । विगतको सरकारले सहकारी बचतकर्ताको रकम फिर्ता दिने कुरा गरिरहेको थियो तर त्यो आश्वासनमात्रै भयो ।

बचतकर्ताले दुःख गरिगरी सहकारीमा राखेको पैसा निकाल्न नपाउँदा कतिपय बचतकर्ताको उठिबास भएको छ । सरकारले सहकारी पीडितहरूको पैसा फिर्ता गर्ने गराउनेतर्फ छिटो ध्यान दिनु जरुरी छ ।

कुनै कुनै बचतकर्ताले जिन्दगीभरको कमाई सरकारी बैंकमा नराखी तिनै सहकारीमा राखेका थिए । चिन्ताको कुरा के छ भने अझैपनि सहकारीको नाममा ठगी भैरहेको समाचार आईरहेकोले आम जनता सचेत बन्नु जरुरी छ ।

सहकारीले बचत खाईदिएको उजुरीका चाङ प्रायः प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा खातैखात छ । राम्रामा गनिने सहकारी पनि केही समयमा टाट पल्टिएका उदाहरण खोज्न गाह्रो छैन तर पनि नयाँ खुल्ने र सदस्य ठगिने क्रम उस्तै छ ।

धेरै सहकारी ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालनमा छन् । तिनै सहकारीको ठगीमा सर्वसाधारण पर्दैछन् । बचतकर्ताले रगत पसिना बगाएर जम्मा गरेको रकमको प्रतिफल पाउनु त परको कुरा सेयर रकम पनि सदस्यले गुमाउने अवस्थाले सहकारीप्रति आम बचतकर्ताको विश्वास टुटदै गैरहेको छ ।

अवको दिनमा सहकारीमा बचत राखेका तर फिर्ता नपाएका हजारौं बचतकर्ताको रकम फिर्ता दिनेतर्फ सरकारले पहल गरोस् । यसअघिको सरकारले पाँच लाखसम्म रकम बचत गरेका बचतकर्ताको रकम फिर्ता दिने घोषणा गरेको थियो तर धेरैले रकम फिर्ता पाएनन् ।

अव नयाँ बन्ने बालेन सरकारले तत्काल सहकारी पीडितको पैसा फिर्ता गर्ने पहल गरोस् । यो गंभीर समस्या समाधानमा नयाँ बालेन सरकारको सवैभन्दा पहिले ध्यान पुगोस् ।

सहकारीको रकममा अनियमितता गरेकाहरू कतिपय राजनीतिक आडमा फरार भएका छन् । जनताले खाइनखाई दुःख गरेर जम्मा गरेको पैसा अपचलन गर्न कसैलाई छुट छैन । अव नयाँ सरकारले आफै तदारुकता लिएर पैसा फिर्ताको पहल गरोस् । सहकारी पीडितले समयमै न्याय पाउनुपर्छ ।

उनीहरूका लागि न्याय भनेको सहकारीको रकम फिर्ता हो । अतः सहकारी पीडितहरूले जुन आशा र अपेक्षा गरेर नयाँ सरकारप्रति विश्वास र भरोसा गरेका छन, उनीहरूको भरोसा मेटाउने काम नहोस् ।

सहकारी ठगीमा राजनैतिक दलका उच्च पदस्थ नेता र कर्मचारीसमेत जोडिएको अवस्था छ । सरकारले यो समस्यालाई फास्ट ट्रयाकमा समाधानको प्रयास गरोस् । देशैभरीबाट पीडित सहकारीको रकम फिर्तामात्रै होइन, सहकारी लुटने अपराधीहरूलाई पनि सरकारले कारवाहीको दायरामा ल्याओस् ।

सहकारी ठगीका मतियार जिबी राईलाई विदेशबाट पक्राउ गरेर ल्याउन सक्यो भने बालेन सरकारको सफलता ठहरिने छ । होइन भने बचतकर्ताको रकम फिर्ता गरेझै गरेर सहकार ठगलाई उन्मुक्ति दिने काम भयो भने सहकारी पीडितको आँशुले सराप्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?