Butwal Today

धान उत्पादन २० प्रतिशतले वृद्धि, किसानले पाएनन् उचित मूल्य

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-

नवलपरासी ।
नवलपरासीमा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा करिब २० प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ । अनुकूल मौसम, नियमित वर्षा, रोग तथा कीराको प्रकोपमा कमी र किसानले अपनाएको खेती व्यवस्थापनका कारण उत्पादन बढेको हो ।
उत्पादन बढेपछि किसानमा उत्साह थपिए पनि उत्पादित धानको उचित मूल्य नपाउँदा उनीहरू निराश छन् । सरकारले धानको समर्थन मूल्य तोके पनि किसानले व्यापारीलाई त्यसभन्दा कम मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् । हिउँदे बालीका लागि मल र बीउ खरिद गर्न धान बिक्री गर्ने समयमा व्यापारीले समर्थन मूल्यभन्दा क्विन्टलमा तीन हजार रूपैयाँसम्म कम मूल्य दिने गरेको किसानहरूको भनाइ छ ।
‘प्रकृतिले साथ दियो, सरकारले समर्थन मूल्य पनि तोक्यो, धान उत्पादन बढ्यो, तर किसान व्यापारीबाट ठगिँदै छन्,’ सरावल–६ का किसान इसरायल धुनियाले भने, ‘हिउँदे बालीका लागि धान बेचेर मल र बीउ किन्ने बेला व्यापारीले निकै कम मूल्य दिन्छन् ।’
सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय ६० रूपैयाँ र मध्यम धानको तीन हजार आठ सय ६० रूपैयाँ तोकेको छ । तर किसानले भने तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् ।
कृषि ज्ञान केन्द्र परासीका अनुसार यस वर्ष जिल्लामा २२ हजार ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट एक लाख १४ हजार मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा एक लाख सात हजार एक सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष करिब सात हजार मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र परासीका सूचना अधिकारी चन्द्रप्रकाश गुप्ताले यस वर्ष धान खेतीका लागि मौसम अनुकूल बनेपछि उत्पादनमा सकारात्मक प्रभाव परेको बताए । रोपाइँदेखि धान पाक्ने समयसम्म नियमित वर्षा हुनु र खेतमा पर्याप्त चिस्यान कायम रहनुले धानको वृद्धि तथा दाना लाग्ने प्रक्रियामा सहयोग पुगेको उनको भनाइ छ ।
‘यो वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । अनुकूल मौसम र नियमित वर्षाका कारण किसानले राम्रो उत्पादन लिन सकेका छन्,’ गुप्ताले भने, ‘गत वर्षको तुलनामा यस वर्ष करिब सात हजार मेट्रिक टन धान बढी उत्पादन भएको छ ।’
उनका अनुसार रासायनिक मलको अभाव देखिए पनि किसानले विभिन्न माध्यमबाट मलखादको व्यवस्थापन गरेका थिए । कृषि सामग्रीमार्फत केही मात्रामा मल उपलब्ध हुनुका साथै खुला सीमावर्ती क्षेत्रका कारण किसानले वैकल्पिक माध्यमबाट समेत मलखादको जोहो गरेका थिए । यसले पनि उत्पादन बढाउन सहयोग पुगेको उनले बताए ।
यस वर्ष रोग तथा कीराको प्रकोप तुलनात्मक रूपमा कम हुनु, खेती व्यवस्थापनसम्बन्धी किसानको सचेतना बढ्नु, गुणस्तरीय बीउको प्रयोग र मलखादको उचित व्यवस्थापनले पनि उत्पादनमा सकारात्मक प्रभाव पारेको केन्द्रले जनाएको छ ।
जिल्लामा रामग्राम नगरपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, सुनवलका केही क्षेत्र र बर्दघाट नगरपालिका धान खेतीका प्रमुख क्षेत्र हुन् । यी क्षेत्रका अधिकांश किसानको मुख्य कृषि उत्पादन धान हो । जिल्लाको भौगोलिक अवस्था र सिँचाइ सुविधाको उपलब्धताअनुसार विभिन्न क्षेत्रमा धान खेती हुँदै आएको छ । प्रतापपुर र सुस्ता गाउँपालिका भने उखु, केरा तथा बदाम खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छन् ।
जिल्लाका किसानले हाइब्रिड, साँवा, हर्दिनाथ र कालानमक लगायत विभिन्न जातका धान खेती गर्दै आएका छन् । पछिल्लो समय उत्पादन र बजारको मागलाई ध्यानमा राख्दै किसानले धानका विभिन्न जात प्रयोग गर्न थालेका छन् । हाइब्रिड तथा उन्नत जातका धानसँगै बुद्धकालीन धानका रूपमा चिनिने कालानमकजस्ता पुराना प्रजातिको खेती गर्ने चलनसमेत बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
धान उत्पादन र उत्पादकत्व बढाउन केन्द्रले गुणस्तरीय बीउको उत्पादन तथा प्रवद्र्धन, मसिना धान खेतीसम्बन्धी कार्यक्रम र कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै आएको सूचना अधिकारी गुप्ताले बताए । सिँचाइका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण वितरण गर्ने कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ ।
‘धानको उत्पादन र उत्पादकत्व बढाउन गुणस्तरीय बीउको प्रयोग, मसिना धान खेतीको प्रवद्र्धन तथा सिँचाइ सुविधामा जोड दिएका छौँ,’ गुप्ताले भने, ‘किसानलाई आवश्यक कृषि उपकरणमा अनुदान उपलब्ध गराउने र बीउको गुणस्तर सुधार गर्ने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।’ यस वर्षको उत्पादन वृद्धिले किसानमा उत्साह थपेको छ । पाल्हीनन्दन गाउँपालिका–४ का किसान सन्दीप धवलले गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन र गुणस्तर दुवै राम्रो भएको बताए । उनका अनुसार यस वर्ष धान कुटाउँदा तुलनात्मक रूपमा बढी चामल प्राप्त भएको छ ।
‘गत वर्षभन्दा यस वर्ष धान निकै राम्रो भएको छ । एउटै परिमाणको धानबाट गत वर्षको तुलनामा प्रतिक्विन्टल २५ देखि ३० किलोग्रामसम्म बढी चामल प्राप्त भएको अनुभव छ,’ धवलले भने ।
धान उत्पादनमा भएको वृद्धिले जिल्लाको खाद्यान्न आपूर्तिमा सकारात्मक योगदान पुग्ने देखिएको छ । तर उत्पादन बढे पनि किसानले मलखादको सहज उपलब्धता, पर्याप्त सिँचाइ, गुणस्तरीय बीउ र कृषि उपजको उचित मूल्य पाउने समस्या भने समाधान हुन सकेको छैन ।
कृषि क्षेत्रलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउन उत्पादन वृद्धिसँगै भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसानहरूको भनाइ छ । अनुकूल मौसमको लाभ उठाउँदै आधुनिक कृषि प्रविधि, गुणस्तरीय बीउ र व्यवस्थित सिँचाइको पहुँच विस्तार गर्न सके नवलपरासीलाई धान उत्पादनको थप बलियो क्षेत्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?