© 2026
नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादी पक्राउ गरेर रु तीन करोड ३५ लाख ३४ हजार ४९८ जरिवाना असुल उपर गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले उनीहरूमाथि १२५ वर्ष एक महिना नौ दिन कैद सजाय तोकिएको जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को असोजदेखि फागुन मसान्तसम्मको अवधिमा जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पक्राउ गरिएको उनले बताए ।
प्रहरीले अवैध भन्सार छली नियन्त्रणतर्फ ६ महिनाको अवधिमा प्रहरीले रु एक करोड ९५ लाख ६० हजार ४९३ बराबरको राजस्व सङ्कलन गरेको छ । सोही क्रममा ४९ जना पक्राउ परेका छन् भने दुई वटा गाडी, २१ मोटरसाइकल र दुई वटा ई–रिक्सा बरामद गरिएको छ ।
ट्राफिक कारबाहीतर्फ जिल्लाभर १५ हजार ६६७ वटा सवारीसाधनलाई कारबाही गर्दै रु एक करोड २७ लाख १९ हजार ५०० राजस्व सङ्कलन गरिएको छ । त्यसै गरी, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारीसाधन नियन्त्रणमा लिँदै रु ६ लाख २५ हजार ५०० राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त अवधिमा लागू औषध नियन्त्रण अभियानअन्तर्गत २१२ जना पक्राउ परेका छन् । बरामद लागू औषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउन सुगर, चार ग्राम चरेस, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र चार हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ । पक्राउ परेका १९१ नेपाली पुरुष, नौ महिला र १२ भारतीय नागरिकसमेत रहेका छन् ।
यसैबिच, ज्यान मार्ने उद्योगसम्बन्धी तथा अन्य गम्भीर प्रकृतिका घटनामा संलग्न फरार प्रतिवादीहरूलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाइएको छ ।
गत कात्तिक ६ गते नेपालगन्ज उपमहानगरपालिका–१८ स्थित मिलन कटेज नजिक भएको घटनामा फलामको रड र धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाउने जाजरकोट भेरीमालिका नगरपालिका–४ का ३० वर्षीय निरज शाहीलाई कात्तिक २४ गते पक्राउ गरिएको प्रनाउ पातलीको भनाइ छ ।