Butwal Today

मौसममा आएको परिवर्तनप्रति होसियारी 

९ चैत्र २०८२, सोमबार
अ+
अ-

मौसमप्रतिको अर्थपूर्ण जागरूकता’ भन्ने नाराका साथ आज विश्व मौसम दिवस नेपालमा पनि मनाईदैछ । यो वर्षको नाराले भनेजस्तै मनसुनप्रति जागरूकताको आवश्यकता छ ।

किनभने पछिल्लो समय मौसमका विषयमा सावधानी र सचेतना नहुँदा हरेक वर्ष हुने मानवीय क्षति बढिरहेको छ । मौसममा आएको परिवर्तनले विश्व समुदायलाई पारेको असर र प्रभावका विषयमा गहन चिन्तनको खाँचो छ ।

मौसम दिवस मनाएर औपचारिकता पूरा गरेर मात्रै हुँदैन, मौसमले पु¥याएको असरको विषयमा समेत बिहंगम छलफल र अनुसन्धानको खाँचो छ । त्यसो त मौसममा आएको परिवर्तनको असरले विश्व समुदाय प्रभावित भएको छ ।

हरेक वर्ष मौसमजन्य विपदका कारण हजारौं मानिसले ज्यान गुमाउन बाध्य भइरहेका छन् । मौसममा आएको परिवर्तनको असरबाट नेपाल समेत अछुतो छैन । यद्यपि विकासले विनास निम्त्याउने विज्ञानको सिद्धान्त नै हो ।

तसर्थ विश्वमा जति पनि वैज्ञानिक परिवर्तन भएका छन्, त्यसको सिधा असर नेपालमा परिरहेको छ । पछिल्लो समय नेपालले राम्रैसँग मौसम अर्थात् प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ ।

मौसममा आएको परिवर्तन जस्तै अति वृष्टि, अनावृष्टि, बेमौसमी वर्षा, लगातारको झरी, भारी वर्षा, हिउँ, सुनामी, हिमनदी बिष्फोट आदि पछिल्लो समयका मौसम परिवर्तनले ल्याएको असर हो ।

नेपालले यी असरबाट आफूलाई कसरी सुरक्षित राख्न सक्छ भन्ने कुरा बढी महत्त्वपूर्ण छ । मौसमलाई पहिलेकै अवस्थामा फर्काउन सकिँदैन तर त्यसको असर कसरी कम गर्ने भन्ने विषयमा गहन वैज्ञानिक अध्ययन र अनुसन्धानको आवश्यकता छ ।

विश्वका ठुला मुलुकका वैज्ञानिकले आफ्नो देशको पारिस्थितिक प्रणाली अनुसारको खोज र अनुसन्धानलाई नेपालले मानिदिनुपर्ने र पत्याउनु पर्ने अवस्था छ । नेपालले अव आफै आफ्नो देशको वातावरणीय प्रभावका कारण मौसममा आएको परिवर्तनका विषयमा खोज अनुसन्धान गर्नु जरुरी छ ।

नेपाल जलस्रोतको धनी देश हो । तर, यो एकादेशको कथा नबनोस् भन्नेतर्फ हेक्का राख्नु आवश्यक भैसकेको छ । किनभने मौसममा आएको परिवर्तनले जल सम्पदामाथि ठुलो धक्का लागिरहेको छ ।

खास गरी जलवायु परिवर्तनको मुख्य कारण बढ्दो कार्बनको उत्सर्जन हो । कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूलाई वायु प्रदुषण कम गर्न अव विश्व समुदायले नै आह्वान गर्नु र त्यही किसिमको योजना तयार गर्नु जरुरी छ ।

खास गरी हिमाली देशहरू जलवायु परिवर्तनविरुद्ध एकजुट नहुने हो भने यसको असर रोक्न सकिन्न । चिन्ताको कुरा के छ भने हिमनदी पग्लिने क्रम रोकिएको छैन् । विश्व पानीको समस्या र चुनौतिले प्रभावित हुँदैछ ।

पानीको अभावमा बसाई सराई समेत बढ्दै गएको छ । हाम्रा पहाडको दैनिक जनजीवन पानीकै अभावका कारण तराईतर्फ सर्ने क्रममा छ । बसाईसराईको एक प्रमुख कारण पनि पानी हो भन्ने मानिएको छ ।

अव पानी जोगाउने, संरक्षण गर्ने र पानीका मुहानलाई बचाउनेतर्फ लागिएन भने अर्को पुस्ताले पानीको चुनौति सामना गर्नुपर्नेछ । यो, सवै मौसममा आएको परिवर्तनको कारण हो भन्दा पनि विकासले निम्त्याएको बाध्यता हो भन्दा अत्युक्ति हुँदैन । तर, मौसममा आएको परिवर्तनका कारण पानीको संकट बढिरहेको भने यथार्थ हो ।

जलवायु परिवर्तनको असर यो वर्ष प्रत्यक्ष अनुभव गरिएको वातावरणवीदहरूले उल्लेख गरेका छन् । तराईको भू– सतहबाट पानी सुक्दै गएको छ । यो पनि मौसममा आएको ठुलो परिवर्तनको असर हो ।

अतः जलवायु परिवर्तनले जनताको जीवनमा पारेका प्रभाववारे राज्यले छुट्टै अनुसन्धान थाल्नु जरुरी छ । जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न विकासशील मुलुकहरू गंभीर वन्नु जरुरी छ ।

त्यसमाथि नेपालले मौसममा आउने फेरबदल र त्यसबाट उत्पन्न हुने प्रभावबाट कसरी जोगिने भन्ने सवालमा ध्यान केन्द्रित गर्नु जरुरी छ । खासगरि अव केही दिनभित्रैमा बन्ने नयाँ सरकारले वातावरणको सवालमा सुरुवातदेखि नै पहल गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?