Butwal Today

कांग्रेसले सभापति थापाको राजीनामा अस्वीकार

८ चैत्र २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकार गरेको छ। आइतबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रूपमा उक्त निर्णय गरेको हो।

बैठकले पार्टीभित्र अनावश्यक अस्थिरता र कार्यकर्ताको मनोबलमा असर पर्ने सम्भावना रहेको निष्कर्ष निकाल्दै थापालाई पूर्ववत् जिम्मेवारीमा निरन्तरता दिन आग्रह गरेको जनाएको छ। साथै, प्रतिनिधिसभा निर्वाचनको परिणामको जिम्मेवारी एक व्यक्तिको नभई समग्र पार्टीको भएको पनि बैठकले स्पष्ट पारेको छ।

पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीलाई ध्यानमा राख्दै थापाको नेतृत्व आवश्यक रहेको बैठकको ठहर छ। उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सम्पन्न बैठकले प्रारम्भिक समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको छ।

यसैबीच, बैठकले पश्चिम एसियामा जारी द्वन्द्व चाँडै अन्त्य गर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा रहेका नेपालीको सुरक्षामा सरकारको ध्यानाकर्षण गराएको छ। साथै, पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?