© 2026
काठमाडौँ ।
शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईको तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ । योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७औँ स्थानमा छ ।
एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म राम्रो मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहनुपर्ने श्रेणीमा पर्छ । एक सय एकदेखि १५० अस्वस्थ मानिन्छ, जसले विशेष गरी श्वासप्रश्वास तथा मुटुरोगीलाई असर गर्नसक्छ । यस्तै १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले शुक्रबार र शनिबार हावाहुरीसहित परेको वर्षाका कारण वायु प्रदूषण घटेको बताए । उनका अनुसार वर्षाले हावामा रहेका धुलो तथा प्रदूषणका कणलाई जमिनमा झार्न मद्दत गर्छ भने हावाहुरीले ती कणलाई उडाएर अन्यत्र लैजाने हुँदा प्रदूषण कम हुन्छ । “यदि लामो समयसम्म वर्षा भएन र मौसम सुक्खा रह्यो भने वायुमण्डलमा धुलोका कण थुप्रिँदै जान्छन्”, महानिर्देशक सुवेदीले भने, “काठमाडौँ कचौरा आकारको सहर भएकाले प्रदूषण सजिलै बाहिर निस्कन सक्दैन ।”