Butwal Today

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

८ चैत्र २०८२, आइतबार
अ+
अ-
महोत्तरी ।  चालु आर्थिक वर्ष २०८२र८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन ।
यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।
उद्योगले राखेको लक्ष्यभन्दा दुई लाख ४७ हजार ८२२ क्विन्टल कम हो । उद्योगले यस याममा ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको थियो । “हामीले ३१ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेका थियौँ, तर उखु पर्याप्त नपाइँदा यो लक्ष्य हासिल गर्न सकेनौँ”, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने, “उखुको अभावले कैयौँ पटक क्रसिङ रोक्दै चलाउँदै गर्नुप¥यो ।” उद्योगले गत पुस ७ गते थालेको क्रसिङ गत बिहीबारसम्म सञ्चालन गरेको थियो ।
उद्योगले पछिल्ला तीन÷चार वर्षयता उखुको भुक्तानी प्रक्रिया सरल बनाए पनि उखु खेती बढ्न सकेको छैन । एक दशकअघि १५ हजार बिघामाथि रहेको उखु खेती चार वर्षअघि झरेर पाँच/छ हजार बिघामा खुम्चिएको छ । त्यसअघिका वर्षमा भुक्तानी झन्झटिलो हुँदा खेती गर्न छाड्दै गएका किसानले पछिल्ला तीन वर्षयता यो प्रक्रिया सरल बनाउँदै लगेपछि क्रमशः खेती बढाउँदै लगेका छन् ।
हाल करिब नौ हजार बिघामा उखु खेती हुने गरेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिए । “उद्योगले भुक्तानी प्रणाली सरल बनाएपछि खेती गर्ने किसानको सङ्ख्या केही बढेको छ, तर मूल्य निर्धारण र अनुदानमा भने किसान समस्यामा छन्”, उनले भने “यही समस्या समाधान नहुँदा किसानमा उत्साह जाग्न सकेको छैन ।”
उखु किसानका प्रतिनिधि संस्थाले उद्योग, सरकार र आफुसहितको सहभागितामा प्रत्येक वर्ष कात्तिक मसान्तभित्र उखुको मूल्य निर्धारण भइसक्नुपर्ने र अनुदान बढाउन पर्ने माग गर्दै आएका छन् । सरकारले किसानका प्रतिनिधिलाई खोज्दै नखोजी एकपक्षीय रूपमा मूल्य निर्धारण गर्दै आएको कुशवाहाको गुनासो छ । यो मूल्य निर्धारण पनि बाली तयार भइसकेपछि किसानलाई कमजोर बनाएर हुँदै आएको उनले धारणा राखे ।
यो अवस्थाले खेती बढ्न नसक्दा किसान र उद्योग दुवैलाई मर्का परेको कुशवाहाले जानकारी दिए । “किसानले उखुको मूल्य प्रतिक्विन्टल रु ७५० माग गरे पनि सरकारले उखुको मूल्य रु ६२० र अनुदान रु ७० गरी रु ६९० कायम गरेको छ । यो बढ्दो खेतीको लागत र आम मूल्यवृद्धिको अनुपातमा कम हो”, उनले भने ।
चिनी उद्योगले उखुको भुक्तानी तौल भएको दुई साता ननाघ्दै दिँदै आएको जनाएको छ । पछिल्लो एक साता (फागुन २७ देखि चैत ५) सम्मको मात्र उखुको भुक्तानी बाँकी रहेको उद्योगका महाप्रबन्धक शुक्लाले बताए । केही दिनभित्रै भुक्तानी गरिसक्ने उद्योगले जनाएको छ ।
हालसम्म गत फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको रु एक अर्ब ६२ करोड भुक्तानी किसानका बैङ्क खातामा गइसकेको उद्योगका महाप्रबन्धक शुक्लाले जानकारी दिए । उनका अनुसार यो भुक्तानी रकम एक हजार १७४ किसानले पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?