Butwal Today

विश्व पानी दिवस: पानीको सङ्कट समाधानमा ऐक्यबद्धता

८ चैत्र २०८२, आइतबार
अ+
अ-

‘सबैको पहुँच स्वच्छ पानीमा’ भन्ने नाराका साथ विश्व पानी दिवस आज नेपालमा पनि मनाईदैछ । संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष मार्च २२ को दिनलाई विश्व पानी दिवसको रूपमा मनाउँदै आएको छ ।

दिवस मनाउन थालेको बर्षौ भएपनि नेपालजस्तो अपार जलभण्डार भएको देशका नागरिक अझै पनि पानीको पहुँचबाट टाढै हुनुपरेको सुन्दा पत्याउन गाह्रो पर्छ तर यथार्थ यही हो । नेपाल जलश्रोतमा विश्वकै दोस्रो धनी देश हो नागरिकले भने स्वच्छ पानीको कुरै छोडौँ, पानी लिन घन्टौँ पैदल यात्रा तय गर्नुपर्ने बाध्यता छ ।

पहाडी बस्ती अझै पनि पानीको पहुँचबाट टाढै छन् । पँधेरा गएर पानी ल्याउनुपर्ने बाध्यता अझै पनि पहाडी क्षेत्रका महिलाको लागि हरेक दिनको दैनिक हो । नेपाल जल सम्पदामा धनी छ ।

नेपालमा पाँच हजार बढी नदी नाला छन् तर अधिकांश नदी नालामा अचेल पानी बग्दैनन् । बढ्दो जनसङ्ख्या, प्राकृतिक सम्पदाको विनाश, तीव्र औद्योगीकरण, वन जङ्गलको विनाश आदिका कारण आज विश्व भरी नै पानीको सङ्कट बढ्दै गएको यथार्थ हो । पानीको श्रोत र मुहान सुक्दै गएका छन् । पानीको संरक्षणको विषयमा ठुला देशहरूले चासो र चिन्ता गर्नै छाडेका छन् । यही अवस्था जारी रहे विश्वका लागि पानी मूख्य चुनौति बन्ने अवस्था छ ।

अवको दिनमा भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, ताल तलैयाहरूको संरक्षण गर्न जरुरी छ । चिन्ताको कुरा के छ भने भूमिगत पानीको भण्डार समेत अहिले सुक्दै गएको छ ।

अवको दिनमा सहरी क्षेत्रमा वर्षातको पानीमार्फत भूमिगत पानीको स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी छ । पानीको संरक्षण गर्ने हो भने देशका विभिन्न स्थानमा पोखरीहरू निर्माण गरी आकाशेपानी संकलन गर्ने र पानीका स्रोतहरूको संरक्षण गर्नेतर्फ अब बन्ने नयाँ सरकारको ध्यान जाओस् ।

पछिल्लोसमय विश्वले जनसङ्ख्या बृद्धि र बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणको तीब्रतातर्फ ठूलो चुनौतिको सामना गर्नुपरिरहेको अवस्था छ । फलस्वरूप वन जङ्गल तथा प्रकृति विनासका कारण पानीका स्रोतहरू नष्ट भइरहेको छ । अव्यवस्थित बस्ती र बढ्दो औद्योगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदुषित हुँदै गएको छ ।

जसका कारण प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।

अवका दिनमा पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पु¥याउनेतर्फ ध्यान नदिने हो भने एकदिन विश्वले पानीकै लागि ठूलो संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ । जलसम्पदाको धनी देश नेपाल पनि त्यो अवस्थाबाट जोगिन नसक्ने स्थिति हुनसक्छ ।

पानी हाम्रो जीवनको आधार हो । पानीविना मानिसको अस्तित्व समाप्त हुन्छ । जनसंख्याको बढ्दो माग र द्रुत गतिमा विकास भइरहेको विश्वव्यापी अर्थतन्त्रले जलवायु परिवर्तनको प्रभावका साथ पानी र पानीको पहुँचको अभाव बढाउने निश्चित छ । अवको दिनमा पानी बचाउने अभियानमा लाग्नु जरुरी छ ।

पानी उत्पादन हुन सक्दैन, त्यसकारण प्राकृतिक सम्पदाको संरक्षण पानी जोगाउने एकमात्र आधार हो । भोलिको सन्ततीले काकाकुलको चुनौति सामना गर्नु नपरोस् भन्नकै लागि आजैबाट पानी संरक्षणको उपाय खोज्न ढिलाई नगरौं ।

विश्व पानी दिवसकै अवसरमा सारा विश्वको ध्यान पानीको श्रोत संरक्षण गर्नेतर्फ जाओस् । जसरी नेपालको नाम जल सम्पदामा विश्वकै दोस्रो धनी देशको रूपमा अंकित छ, त्यसरी नै नेपालले जल भण्डारलाई सुक्न नदिन संरक्षणको काम गर्नुपर्नेछ । आगामी नयाँ पुस्ता र पिँढीलाई सुरक्षित जलको ग्यारेन्टी गर्ने काम हाम्रो हो ।

नेपाललाई विश्वकै जलश्रोतको पहिलो धनी देश बनाउन नसकिएपनि दोश्रोबाट तेश्रोमा झरेको अवस्था सुन्नु नपरोस् । त्यसका लागि अहिलेदेखि नै जलसम्पदा संरक्षणमा काम गर्नुपर्ने आवश्यकता बोध गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?