Butwal Today

बिरामी लगेर नेपालगन्ज जाँदै गरेको सल्यानको एम्बुलेन्समाथि सुर्खेतमा आक्रमण 

७ चैत्र २०८२, शनिबार
अ+
अ-

सल्यान । सल्यान कुमाख गाउँपालिकाको एम्बुलेन्समाथि तोडफोड र चालकमाथि कुटपिट भएको छ । बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्समाथि शनिबार राति सुर्खेतमा आक्रमण भएको हो ।

रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्समाथि सुर्खेत रामघाट स्थित छिन्चु नजिक शुक्रबार राति करिब १० बजेतिर आक्रमण भएको जनाइएको छ ।

रक्सी सेवन गरेका ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको चालक वसन्त शर्माले बताए । उनका अनुसार एम्बुलेन्समा एक बिरामी र एक जना कुरुवा थिए ।

आक्रमण गर्ने समूहले एम्बुलेन्स चालक वसन्तलाई गाडीबाट तानेर कुटपिट गरेका थिए । ज्यानको जोखिम भएपछि चालक भागेर जोगिन सफल भएको र चालक भागेपछि उनीहरूले एम्बुलेन्समा समेत तोडफोड गरेका थिए ।

चालकका अनुसार उक्त समूहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासि हातपात सुरु गरेका थिए। घटनापछि चालक वसन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी करिब आधा घण्टापछि घटनास्थलमा पुगे पनि त्यति बेलासम्म आक्रमण गर्ने व्यक्तिहरू फरार भइसकेका थिए ।

तोडफोड भएकै अवस्थामा पनि एम्बुलेन्सले बिरामीलाई लिएर सोही रात नेपालगन्ज पुग्न सफल भएको चालक वसन्तको भनाइ छ । बिरामीको सेवाका लागि रातदिन खटिने एम्बुलेन्स र चालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद घटना भएको भन्दै उनले दोषी पत्ता लगाएर कडा कारबाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?