Butwal Today

केसी भन्छन्: नेतृत्व लिएको क्याप्टेनले बीचमै छाड्न मिल्दैन

६ चैत्र २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गर्नु गलत हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको टिप्पणी गरे ।

पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको ‘क्याप्टेन’ ले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह समेत गरे ।

‘५० दिनको अवधिमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ ? म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हुँ,’ केसीले भने, ‘अहिले केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे छलफल हुने भएकाले यसमा व्यक्तिगत टिप्पणी नगरौँ । एउटा ठूलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो, उसले बीचमै छोडेर जान मिल्दैन ।’

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने बताए । पार्टीलाई थापाको आवश्यकता रहेको उनको भनाइ छ ।

‘कुनै पनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन । यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथीहरू छन् । उहाँहरूलाई हाम्रो सम्पूर्ण रूपमा शुभेच्छा छ । स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?