काठमाडौँ । अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ ।
हुम्ला, कालिकोट, अछाम, सुर्खेत, बर्दिया, दाङ, बाँके र कपिलवस्तु लगायतका जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो एक घण्टामा सबैभन्दा धेरै वर्षा दाङको अम्मरपुरमा ३२.८ मिलिमिटर मापन भएको छ । त्यस्तै, रुपन्देहीमा पनि दिउँसोपछि मौसम बदली भएको छ ।
आज लुम्बिनी, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा हावाहुरी करिब ५०–६० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने सम्भावना रहेको छ ।
यसका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।