Butwal Today

डढेलोबाट बच्न पूर्व सावधानीको खाँचो 

३ चैत्र २०८२, मंगलवार
अ+
अ-

‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता: तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आइतबारदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ ।

वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७ अनुसार हरेक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाउँदै आएको छ । वनमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिने यो सप्ताह वन डढेलो नियन्त्रणमा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

अहिलेको समयमा वन डढेलो नियन्त्रणको प्रभावकारी माध्यम भनेको जनचेतना नै हो । सप्ताहकै अवसरमा आयोजना हुने कार्यक्रमले जनचेतना अभिवृद्धि, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन हुँदा यसको प्रभावकारिता महत्त्वपूर्ण हुने ठानिएको छ ।

अहिले सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम उच्च देखिएको छ । डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्य पहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको देखिनु निश्चित रूपमा चिन्ताको कुरा हो । त्यसो त हरेक वर्ष गर्मी याम सुरु भएसँगै आगलागीका घटनामा ठुलो जनधनको क्षति हुने गरेको छ ।

यो बर्ष गर्मी सुरु नहुँदै आगलागीका घटना सुरु भएका छन् । पाल्पा जिल्लाको रिब्दीकोट ४ भैरवस्थान नजिक भएको आगलागी तीन दिन अघि मुस्किलले नियन्त्रणमा आएको छ । बुटवल अमरपथमा जुत्ता पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । नेपालगञ्जमा गत साता भएको आगलागीले करोडौंको क्षति पुगेको छ ।

शनिवार रातीमात्रै रंगेलीमा भएको आगलागीमा तीन बालबालिकाको मृत्यु भएको छ । यस प्रकारका घटनामा पछिल्लोसमय मानवीय क्षति बढ्दै गएको छ । गर्मी सुरु नहुँदै सुरु भएका आगलागीका घटनाले चिन्ता थपेको छ । आगलागी न्यूनीकरणका लागि बेलैमा सचेतना नअपनाउँदा ठुलो घटनाको रूपमा देखिने गरेको छ ।

आगलागीका कारण निजी सम्पत्ति मात्र हैन, सार्वजनिक स्रोत–साधनको समेत नोक्सान हुने गरेको छ । तसर्थ वन डढेलो तथा आगलागीका घटना नियन्त्रणमा यस प्रकारका सप्ताहको योगदान अतुलनीय हुने अपेक्षा गरिएको छ ।

तराई तथा पहाडमा त्यसैपनि फागुनदेखि जेठसम्म हावाहुरीका साथै मौसमी तापक्रम बढ्ने भएकोले यो समयमा आगलागीका घटना धेरै हुने गरेको छ । आगलागीका घटनामा क्षति बढ्नुमा समय–समयमा पानी नपर्नु, पानीका मुहान सुक्दै जानु, अव्यवस्थित बसोबास बढ्नु, आगलागीपछि तत्काल नियन्त्रणको लागि सक्रियता बढाउन नसक्नु हो ।

सीमित स्रोत–साधनको भरमा आगो नियन्त्रणको प्रयास गर्नुपर्ने थुप्रै कारण छन् । गाउँघरमा खाना पकाइसकेपछि लापरबाही तरिकाले आगो छोडिदिने, गोठमा गाईवस्तुको सोतर सफा नगरी कुँडो पकाउने र आगोलाई त्यत्तिकै छोडिदिने, खेतबारीमा झाडी सफा गर्ने नाममा जथाभावी आगो बाल्ने, राम्ररी घाँस पलाउँछ भनेर कान्लामा आगो लगाउने, अरिङ्गाल पोल्नेजस्ता कार्य गर्दा आगो फैलिएर अनियन्त्रित भएको पाइन्छ ।

तसर्थ डढेलो व्यवस्थापन सप्ताहकै अवसरमा यी क्षेत्रमा सावधानी अपनाउन सके निश्चित रूपमा सप्ताहको उपादेयता सार्थक हुनेछ ।  त्यसैपनि चैत, बैशाख र जेठ भनेको आगलागीको जोखिम हुने महिना हुन ।

यी तिन महिना आगलागीबाट बच्न सकिएको अवस्थामा बाँकी ९ महिना सुरक्षित हुन सकिन्छ । तसर्थ आगलागीका घटनाबाट बर्सेनि हुने ठुलो जनधनको क्षति न्यूनीकरणमा पूर्व सचेतनाको आवश्यकता छ ।

पूर्व सचेतनामा डढेला सप्ताह पनि पर्दछ । तसर्थ अहिलेदेखि नै आगलागीका घटना नियन्त्रण तथा सचेतनामा आम जनसमुदायको ध्या(नाकर्षण जरुरी छ । सवैभन्दा पहिलो प्राथमिकता आगलागी हुनै नदिने हो र कथंकदाचित भैहालेपनि छिटोभन्दा छिटो नियन्त्रण गर्ने र मानवीय क्षति हुन नदिनेतर्फ ध्यान दिनु जरुरी छ ।

त्यसका लागि संघीय सरकार भन्दा पनि स्थानीय पालिकाहरूले आगलागीका घटना नियन्त्रणमा प्रभावकारी संयन्त्रको निर्माणमा जोड दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?