© 2026
सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी इनिसा विकको हत्यामा संलग्न अभियुक्तको अझै पहिचान भएको छैन । घटनामा संलग्न भएको आशङ्कामा स्थानीय केही युवालाई पक्राउ गरिएको छ ।
प्रहरी प्रशासनले अभियुक्त पहिचान गरि कारबाहीको दायरामा ल्याउने बताएको छ । तर, कतै यो घटनापनि कञ्चनपुरकी निर्मला पन्तको नियति हुने होइन भन्नेतर्फ सचेत हुनु जरुरी छ ।
इनिसा विक हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै युवाहरूले केही दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीहरूले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन माग गरेका छन् भने महिला तथा दलितमाथिको हिंसा अन्त्य गर्न र पीडितलाई न्याय दिन माग गरेका छन् । इनिशा बिकले न्याय पाउनुपर्दछ ।
उनी यस संसारमा छैनन् तर भोलीको दिनमा इनिसा विकको नियति अरू बालिकाहरूले भोग्न नपरोस् भन्नेतर्फ सजगता अपनाउनैपर्दछ । पोस्टमार्टम रिपोर्ट सार्वजनिक भैसकेको छ र बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ । घटनामा संलग्न अपराधीमाथि कारवाहीमा ढिलाई नहोस् ।
त्यसो त इनिसा विकमात्रै होइन, नेपालमा महिलामाथिको ज्यादती धेरै पहिलेदेखि सुरु भएको हो । गरिबी, अशिक्षा र अज्ञानताका कारण महिलामाथि हिंसाजन्य ज्यादतीका घटना लगातार बढिरहेकामे छ । यसअघि तीन बर्षअघि काठमाण्डौंमा भएको सुष्मा तामाङको हत्यामा उनले प्रेम स्वीकार नगर्दा भएको थियो ।
प्रेम अस्वीकार गर्दा युवती तथा महिलाहरूमाथि जघन्य र बर्बर हत्यासम्मको अपराध बढ्दै गएको छ । गत वर्ष जनकपुरमा पनि यस्तै प्रकारको जघन्य अपराधको घटना भएको थियो । पछिल्ला घटनाक्रमले नेपाली समाज विस्तारै अपराधजन्य मनोबृत्तितर्फ बढ्दै गएको देखिन्छ । प्रेम असफलताको नाममा युवतीहरूमाथि संदिग्ध तरिकाले हिंसा बढेको छ ।
यी केही उदाहरणमात्र हुन । विगतमा एसिड आक्रमणका घटनामा पनि युवती तथा महिलाहरू निसानामा परेकै हुन । पुरुषले प्रस्ताव गरेपछि चाहना नहुँदापनि जबरजस्ती प्रेम स्वीकार नगरे आईपर्ने कुनैपनि परिस्थितिको सामना गर्न युवतीहरू बाध्य हुनुपर्ने अवस्था सिर्जना भैरहेको छ ।
नेपालका जुनकुनै क्षेत्रमा पनि यस प्रकारका घटना दोहोरिईरहेका छन् । जसका कारण युवतीहरू हिंसाको शिकार हुन बाध्य भैरहेका छन् । यो गंभीर बिषयमा अव सोच्नुपर्ने स्थिति आएको छ ।
होइन भने यस प्रकारका जघन्य र बर्बर घटनाको निसानामा थप चेलीहरू पर्नुपर्ने विवसता आउनसक्छ । प्रेम प्रस्ताव अस्वीकार गरेकै नाममा मौका छोपेर ढुकेर हत्या गर्ने जुन अपराधजन्य घटना बढिरहेको छ, यसले नेपाली चेलीहरूको सुरक्षामा चुनौति थपेको छ ।
एकान्तमा भेट गर्ने बहानामा कुकृत्य गर्ने अपराधजन्य मनोबृत्ति नेपालीमा देखिनु पश्चिमा दुष्प्रभाव हो । गएकै वर्ष धरानमा राती शौच गर्न बाहिर निस्किएको बेला एक युवतीको हत्या भयो । अनुसन्धानमा युवतीले प्रेम अस्वीकार गरेकै कारण उनको हत्या भएको उनका प्रेमीले स्वीकार गरे । इनिसा मृत्युमा पनि त्यस्तै कुरा बाहिर आउने आशंका छ ।
आखिर नेपालीहरूमा किन यतिधेरै राक्षसी प्रवृत्ति बढिरहेको छ ? यो गंभीर प्रकृतिको अपराधको घटना यसरी नै बढिरहने हो भने नेपाली समाज बिद्रुपताको निशानामा पर्ने निश्चित छ । अपराधका पछि गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वास मूख्य कारण मान्ने गरिएको छ । महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको भार थामिनसक्नु छ ।
दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने कामले समाज असुरक्षितमात्र होइन बिश्रृंखलित पनि वन्दै गएको छ । अब प्रहरी प्रशासनले तत्काल इनिसा हत्यामा संलग्नलाई सार्वजनिक गरोस् ।
दोषीलाई कडा कारबाहीको माग देशव्यापी रूपमा भएको छ । बलात्कार र महिला हिंसाका घटनामा अव कडा कानुनको आवश्यकता छ । होइन भने हाम्रा चेलीबेटी जहिलेपनि असुरक्षित हुने अवस्था निरन्तर जारी रहने हुने देखिएको छ । अव बन्ने नयाँ सरकारले यो विषयमा गंभीर बहस चलाओस् ।