Butwal Today

विश्व उपभोक्ता अधिकार दिवस

१ चैत्र २०८२, आइतबार
अ+
अ-

‘सुरक्षित उत्पादन, विश्वस्त उपभोक्ता’ भन्ने नाराका साथ आज विश्व उपभोक्ता अधिकार दिवस मनाईदै छ । हरेक वर्ष मनाइने यो दिवसको औचित्य र महत्वको विषयमा प्रश्न उठ्दै आएको छ ।

जनताको गुनासो छ– उपभोक्ता अधिकार दिवस मनाउँदै गर्दा अहिले उपभोक्ताको अधिकारमाथि कुठाराघात भइरहेको छ । उपभोक्ता केन्द्रित आम सरोकारको विषयमा सरकारको ध्यान पुगेको छैन ।

उपभोक्ताको स्वच्छ र गुणस्तरयुक्त बस्तु खरिद गर्न पाउने अधिकारमाथि खेलबाड भइरहेको छ । अनुगमनकारी निकाय निष्प्रभावी भइरहेको छ । आमसरोकारको विषय मात्रै नभएर स्वदेशी किसान र आम उपभोक्ताको स्वास्थ्यसँग जोडिएका विषयमा सरकारले विगतमा ठोस निर्णय गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको छ ।

सार्वजनिक चासो र जनहितका विषयविरुद्ध अदृश्य शक्तिको दबाबमा परेर विगतका सरकारले नीति बनाउँदा उपभोक्ताको अधिकारको विषय अहिले संकटमा परेको अवस्था छ । उपभोक्ता अधिकारको विषयमा जबसम्म उपभोक्ता आफै सचेत हुँदैनन्, तबसम्म अधिकारको बिषय गौण हुने निश्चित छ ।

उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो । तर, उनीहरू आफै उपभोक्ताप्रति जिम्मेवार वन्न सकिरहेका छैनन् ।

निश्चितरूपमा उपभोक्ता विनाको कुनैपनि बजार कल्पना गर्न सकिदैन । त्यसैले उपभोक्ता अधिकारको विषय अव प्राथमिकतामा राख्नैपर्छ । ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए ।

यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ ।

केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो ।

संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।

उपभोक्ता अधिकार छ तर ब्यवहारमा नहुँदा समस्या उत्पन्न भएको छ । कानूनले उपभोक्ताको हक अधिकारको कुराको सुनिश्चितता गरेको छ । स्वच्छ, गुणस्तरीय सामग्री उपभोक्ताको अधिकारको कुरा हो । तर, उपभोक्ता अधिकारलाई कुण्ठित गरी बजारमा गुणस्तरहीन सामग्री पाउने गरेको गुनासो पटकपटक सार्वजनिक वृत्तमा आउने गरेको छ ।

उपभोक्ता अहिले पनि खानेकुरादेखि लत्ताकपडा, आवश्यक अन्य निर्माणका सामग्रीमा पनि ठगिँदै आएका छन् । उपभोक्ताको स्वास्थ्यलाई असर गर्नेगरी बजारमा धुलो र धुवाँवीचमा राखिने गरेको खानेकुराको व्यापार बढ्दो छ ।

खुलेआम खाद्यान्नको विक्रीले स्वास्थ्यमा समस्या ल्याउने उच्च जोखिम रहेको छ । जेहोस यो बर्षको नाराले बजारमा पाईने उपभोग्य बस्तुहरू सुरक्षित, गुणस्तरीय र भरपर्दो हुनुपर्दछ भन्ने आजको आवश्यकतालाई बोध गरेको छ ।

अवको दिनमा उपभोक्ता हितलाई संरक्षण गर्न बनेको कानुनलाई प्रभावकारी वनाउनुपर्दछ । बनेको कानुन कार्यान्वयन गर्ने गरी अनुगमनको जिम्मेवारी स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई दिनु जरुरी छ ।

उपभोग्य बस्तुको नियमित अनुगमन तथा निरिक्षण हुन नसक्दा र कारबाहीको दायरामा ल्याउन नसक्दा उपभोक्ताको हित विपरीतका काम हुँदै आएको सर्वविदीतै छ । उपभोक्ताको अधिकारको सुनिश्चितताका सवै सरोकारवालाको ध्यान जानुपर्ने आवश्यकता छ ।

यो बर्षको नाराले भनेजस्तै उत्पादन सुरक्षित गर्ने र उपभोक्तालाई विश्वस्त बनाउने आधार सिर्जना गर्नु आवश्यक छ । त्यसका लागि फेरीपनि सरकारमात्रै नभै उपभोक्ता स्वयंले पनि आफ्नो अधिकारको कुरामा चनाखो हुनुका साथै बहस पैरवी गर्नुपनि उत्तिकै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?