Butwal Today

‘निर्वाचनको सन्देश: अब युवालाई नेतृत्व’ 

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

बिहीबार भएको निर्वाचनमा जनताले दिएको जनादेशले देशमा आमूल परिवर्तनको आवश्यकता बोध भएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न निर्वाचनको वातावरण र परिणामले देश अव पुरातन सोच, विचार र सिद्धान्तले भन्दा व्यावहारिक रूपमै अघि बढ्नुपर्ने सङ्केत पनि गरेको छ ।

देशले अव विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा मात्रै होइन, अव नेतृत्वमा पनि परिवर्तन खोजेको छ । यो निर्वाचन वास्तवमा नयाँ नेतृत्व खोजको जनादेश पनि हो । आम निर्वाचन २०८२ ले व्यवस्थामा मात्रै परिवर्तन खोजेको होइन, नेताहरूमा परिवर्तन, उनीहरूको व्यवहारमा परिवर्तन, आचरणमा परिवर्तन पनि खोजेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर प्राप्त गरेको करिब दुई तिहाइ मतले नेपाली जनताले आमूल परिवर्तन चाहेको सङ्केत गरेको छ । जनताको यो मतको सम्मान नगरिए जनताले अर्को विकल्प खोज्छन् भन्ने यो पूर्व सङ्केत पनि हो ।

तसर्थ अव नेताहरूमा आमूल परिवर्तनको खाँचो छ । जनताले साँचो बोल्ने, थोरै बोल्ने, आवश्यक मात्रै बोल्ने युग र नेतृत्वको माग गरेका छन् । यो निर्वाचन त्यही दिशातर्फको एक सङ्केत हो ।

मतगणना करिब समाप्तिको संघारमा छ । यो मत परिणामले देशभरी पुराना नेताहरूप्रति मतदातामा आकर्षण घटेको पाईएको छ । संघीय राजधानी काठमाण्डौंमात्रै होइन देशका विभिन्न स्थानमा नयाँ शक्तिको रूपमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेका छन् । यही रूपन्देहीमा रास्वपाले क्लिनस्वीप गरेको छ ।

यसलाई केवल लहर वा आँधीको रूपमा मात्रै ब्याख्या गर्नु फेरिपनि मूर्खता हुनेछ । दुई तिहाइ नजिकको जनादेश पाउनु रास्वपाको लागि अवसर मात्रै होइन, चुनौति पनि हो । यो आवधीक निर्वाचन भएकोले अर्को पाँच बर्षपछि फेरी अर्को लहर आउन सक्छ ।

तसर्थ जनादेश पाउने दलले ठिक ढंगले काम गरे जनताले दोहो¥याउने छन, होइन गलत गरे ठेगान लगाउन पछि पर्दैनन भन्ने यो निर्वाचनको सन्देश पनि हो । तसर्थ बिजयको उन्मादमा मात्तिने र हारमा निरास बन्नुपर्ने अवस्था छैन ।

फेरीपनि समय आउँछ । जनताको अगाडी राम्रो काम गर । जसले राम्रो गर्छ, उसैले बिजय हासिल गर्छ । मुलुक अव त्यसतर्फ अघि बढ्दै छ । जनतालाई अव सिद्धान्तको ठेली होइन, विकास चाहिएको छ ।

त्यसैको द्योतक हो यो निर्वाचन । ठूला दलहरूलाई अहिले आएको मत सुध्रिने अवसर हो । जनता परिवर्तन चाहन्छन भन्ने यो निर्वाचनले स्पष्ट गरेको छ । निर्वाचनको अर्को रोचक कुरा के छ भने उम्मेदवार खारेज भएको स्थानमा पनि घण्टी चुनाव चिन्हमा जनताले स्वस्फूर्तरूपमा मतदान गरेका छन् ।

धनुषा १ का रास्वपाको उम्मेदवारी नै खारेज भएको छ तर त्यहाँका मतदाताले घण्टीलाई सर्वाधिक मत दिएका छन । यो भनेको मतदाताहरू नयाँ शक्तितर्फ आकर्षित हुँदै गरेको छनक हो ।

मतदाताहरूमा पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छ । यसले अव देशको नेतृत्व नयाँ र युवाको हातमा सुम्पिनुपर्दछ भन्ने सन्देश पनि हो । युवा उम्मेदवार भएको स्थानमा मतदाताले पुराना उम्मेदवारको विकल्प खोजेको देखियो ।

धेरै स्थानमा जारी मतगणनाले युवालाई सशक्त रूपमा देशको नेतृत्व सुम्पिन मतदाता तयार भएको देखियो । वास्तवमा अव जुनकुनै पार्टीको भएपनि युवालाई देशको नेतृत्वको अवसर दिनुपर्दछ भन्ने आम निर्वाचनको सन्देश हो ।

परिवर्तनलाई जसले पनि आत्मसाथ गर्नुपर्दछ । वास्तवमा लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । जनताले जे परिवर्तन चाहेका छन, जुन पक्षमा परिवर्तन खोजेका छन, त्यसतर्फ देशलाई अगाडि बढाउनेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?