© 2026
बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना आइतबारसम्म पनि जारी छ ।
आइतबार साँझसम्म पनि केही स्थानको मतगणना भइरहेको छ । निर्वाचन आयोगले मतपेटिका केन्द्रमा आएको २४ घण्टाभित्रै परिणाम सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
तर, निर्वाचन सकिएको चार दिनसम्म सबै मत परिणाम सार्वजनिक हुन सकेको छैन मतगणनाको यो अवस्था सुधारमा परिवर्तन नहुँदा आम मतदाताको छिटो नतिजा सुन्ने आकाङ्क्षामाथि अवरोध हुँदै आएको छ ।
निर्वाचन आयोगले धेरै वर्षदेखि यसमा सुधारको खाँचो औँल्याएको हो तर नेपालको बेथितीको परिणाम मतगणनामा धेरै दिन लाग्ने र त्यसमा सुधारको कुनै प्रयास नगर्ने प्रवृत्ति रोक्न सकिएको छैन । २०७४ को निर्वाचनमा देशका केही स्थानमा विद्युतीय मतदानको समेत व्यवस्था गरिएको थियो तर त्यसपछि त्यो अलपत्र परेको अवस्था छ ।
मतगणनामा हुने ढिलाईले सवैलाई पट्यार लागेको छ । आजको २१ औं शताब्दीमा पनि १५ औं शताब्दीको जस्तो व्यवस्था फाल्नैपर्दछ । अव देशमा रास्वपाको बहुमत आएको छ । रास्वपाले सवैभन्दा पहिले देशका सबै निर्वाचन क्षेत्रमा विद्युतीय मतदानको व्यवसथा गरोस् ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतगणना स्थलमा तारजाली लगाउनु, मतपेटिका वा गणनास्थलमा स्वस्तिक छाप लगायतका सामग्री फेला पर्नु, आवश्यकता अनुसार कर्मचारी नहुनु, दक्ष जनशक्तिको कमी हुनु, हुलहुज्जत गर्ने प्रवृत्ति देखिनु, नाराबाजी हुनुले पनि मतगणना प्रक्रियामा ढिलाई भइरहेको छ ।
यसको एउटै ओखती भनेको विद्युतीय मतगणना हो । तसर्थ यसमा सुधारको गुञ्जाईस जरुरी छ । यसैगरी मानवीय त्रुटी र तथ्याङ्कलाई लिएर कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरूबीच विवाद हुनु, राजनीतिक दलका प्रतिनिधिहरूबीच नै विवाद हुनु, पर्याप्त ठाउँको अभाव हुनु पनि मतगणना ढिलाईका कारण छन् ।
अव यी समस्याको समाधानमा पहल होस् । विद्युतीय मतदानको व्यवस्था नहुँदा बेला बेलामा मतगणना स्थगित गर्नुपर्ने बाध्यता छ । कतिपय स्थानमा पुनःमतगणनाको माग हुने गरेको छ । मतगणनामै घोटाला भएको कुरा सुन्नुपर्ने अवस्था छ । यही निर्वाचनमा पनि चितवन ३ मा रेनु दाहालले मतगणनामा धाँधली भएको आरोप लगाईन ।
यस्ता समस्या छन जसले निर्वाचनलाई प्रभावित बनाएको छ । अतः अवको दिनमा परम्परागत मतगणना प्रणालीबाट बाहिर निस्कनु जरुरी छ । यसमा आमूल सुधारको अपेक्षा गरिएको धेरै भयो तर उही पाँच बर्षमा हुने निर्वाचनको बेलामात्र यो विषय आउने र त्यसपछि हराउने प्रवृत्तिका कारण सुधारमा बिलम्व भएको छ ।
मतगणनामा हुने ढिलाईले साधन स्रोतको खर्च बढाएको मात्र छैन विजयोत्सव मनाउन र धन्यवाद दिन समेत जुर्मुराएका पाईला र उठेका हातहरू मुर्झाउन विवस छन् । त्यसको अर्को घाटा के छ भने निर्वाचन परिणामप्रतिको उत्सुकतामा कमी आउन थालेको छ ।
२०७४ सालमा भएको निर्वाचनमा मतगणनामै १४ दिन लागेको सम्झना अझै ताजै छ । त्यतिबेला काठमाडौं महानगरपालिकामा १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । त्यो मत गन्न १४ दिन लागेको थियो । त्यसैले के स्पष्ट गर्दछ भने हाम्रो देशको निर्वाचन प्रणाली, प्रकृया र समग्र बेथितीमा अव परिवर्तनको आवश्यकता छ ।
यो विषयमा अव निर्वाचन आयोगको ध्यान जाओस् । आयोगले अहिलेदेखि नै तयारी गरेको अवस्थामा विद्युतीय मतदान संभव छ । निश्चितरूपमा पारदर्शी र छिटो मतगणनाको सवैभन्दा उत्तम विकल्प विद्युतीय मतदान नै हो । अव निर्वाचन प्रक्रियालाई व्यवस्थित र छिटो छरितो बनाउन विद्युतीय मतदानको व्यवस्था गर्दा देशलाई नै लाभ हुनेछ ।
समयको बचत हुने छ भने निर्वाचन परिणाम सुन्न आतुर मतदातालाई दिन गन्दै बस्नुपर्ने बाध्यता अन्त्य हुनेछ । अव नयाँ बन्ने सरकारले देशैभरी विद्युतीय मतदानको व्यवस्था गरोस् ।