Butwal Today

मर्चवारः जहाँ मतदाताले मत परिवर्तन गरिरहन्छन्‌

१८ फाल्गुन २०८२, सोमबार
अ+
अ-

वि.स. २०४८ सालको चुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता रुपन्देहीको मर्चवार क्षेत्रबाट सांसद भएका थिए । २०५१ सालमा राप्रपाबाट उम्मेदवार बनेका सर्वेन्द्रनाथ शुक्ला विजयी भए । २०५६ सालमा सद्भावना पार्टीबाट यज्ञजित शाहले चुनाव जिते । त्यतीबेलासम्म मर्चवार रुपन्देहीको क्षेत्र नम्बर ५ रहेको थियो ।

२०६४ सालको संविधान सभामा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी भए । २०७० को अर्को संविधान सभाको चुनावबाट तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ला सभासद बनेका थिए । दुबै संविधान सभाको निर्वाचनको बेला यो क्षेत्र नम्बर ६ थियो । २०७४ को चुनावबाट रुपन्देही ४ अन्तर्गत पर्दछ ।

२०७४ सालमा पहिलो पटक मर्चवारमा नेपाली कांग्रेसले आफ्नो झण्डा फहराएर प्रमोद यादव सांसद बने । २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्र नाथ शुक्ल विजयी भए ।
विगतको चुनावलाई नियाल्दा मर्चवार क्षेत्रमा कुनै पनि दल र व्यक्तीले लगातार चुनाव जितेको रेकर्ड छैन । निर्वाचन पिच्छे मतदाताको मन परिवर्तन भइरहन्छ ।
२०४८ सालदेखी लगातार चुनाव लडिरहेका सर्वेन्द्र नाथ शुक्लले ३ पटक सांसद भएका छन् । तर एकपछि अर्को लगातार नभई एक या दुई कार्यकालको अन्तर पारेर चुनाव जितेका हुन् । शुक्ला बाहेक अरु कोही पनि मर्चवारमा एक पटक भन्दा बढि सांसद हुने अवसर पाएका छैनन् ।
मर्चवार क्षेत्रमा मतदाताले मन मात्र फेर्दैनन् । उम्मेद्वारले दल पनि परिवर्तन गरिरहन्छन् । यहाँबाट ३ पटक चुनाव जितेका सर्वेन्द्रनाथ शुक्ला पनि फरक फरक दलबाटै सांसद भएका हुन् ।

सर्वेन्द्रनाथ शुक्ला सुरुमा नेपाली कांग्रेसमा आबद्ध थिए । २०४८ सालमा तत्कालिन रुपन्देही ५ बाट टिकटको आश गरेका थिए । तर कांग्रेसले के आइ सिंहका छोरा यज्ञजित शाहलाई टिकट दियो । शुक्ला पार्टी परिवर्तन गरेर राप्रपा (थापा) बाट चुनाव लडे । त्यो चुनाव शाह र शुक्ला दुबैले जितेनन् ।

त्यसपछिका दुईवटा चुनाव राप्रपाबाट लडेका थिए । ०५१ को चुनाव शुक्लाले जितेका थिए भने ०५६ मा पराजित भए । २०७० को संविधान सभाको चुनावमा तमलोपाबाट सभासद भएका शुक्ला २०७९ मा लोसपाबाट विजयी भएका हुन् । अहिले पार्टी एकिकरण पछि जसपाबाट उम्मेद्वार बनेका छन् ।

२०५६ सालमा नेपाल सद्भावना पार्टीबाट सांसद भएका यज्ञजित शाह त्यस अघि २०४८ र २०५१ सालमा कांग्रेसबाट उम्मेद्वार बनेका थिए तर जित्न सकेनन् । २०५६ सालमा कांग्रेसले बशिष्ठ त्रिपाठीलाई उम्मेद्वार बनाएपछि शाह नेपाल सद्भावना पार्टीबाट चुनाव लडेर जिते ।

२०६४ सालमा तत्कालिन मधेशी जनअधिकारी फोरमबाट विजयी भएका ओमप्रकास यादव २०७४ सालमा नेकपा एमालेबाट उम्मेद्वार बनेका थिए । २०७९ मा भने जसपाबाट उम्मेद्वार बने ।

२०७४ सालमा नेपाली कांग्रेसको उम्मेद्वार बनेर सांसद भएका प्रमोद यादव २०७९ मा पराजित भएका थिए । यो पटक कांग्रेसले टिकट नदिएपछि एमालेबाट उम्मेद्वार बनेका छन् ।

मर्चवार क्षेत्र अर्थात रुपन्देही क्षेत्र नम्बर ४ मा यस पटक २२ जना उम्मेद्वार मैदानमा छन् । सर्वेन्द्रनाथ शुक्ल आठौं पटक प्रतिस्प्रर्धामा छन् । उनी विजयी भए चौथो पटक सांसद बन्नेछन् र यो क्षेत्रबाट लगातार चुनाव जितेको रेकर्ड राख्नेछन् ।

प्रमोद यादव तेस्रोपटक चुनाव लडेका छन् । उनले जितेमा शुक्लापछि मर्चवारमा दोहोरीने अर्को सांसद बन्ने छन् । त्यसका साथै एमालेले पहिलोपटक मर्चवारमा झण्डा फहराएर इतिहास पनि रच्ने छ । शुक्ला र यादव बाहेक अरु विजयी भएमा प्रतिनिधि सभामा जान मर्चवारले नयाँ अनुहार पाउने छ ।

यहाँ नेपाली कांग्रेसबाट आशुतोष मिश्र उम्मेद्वार बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कन्यैया बानीया मैदानमा छन् । विगतका मतको आधारमा जसपाका शुक्ला, कांग्रेसका मिश्र, एमालेका यादव, रास्वपाका बानियाबीच नै तिब्र प्रतिस्प्रर्धा भइरहेको अनुमान छ ।

तर को विजयी हुन्छ भनेर मर्चवारमा अहिले नै अनुमान गर्न कठिन छ । मर्चवारका धेरै मतदातामा चेतनाको स्तर कम छ । अशिक्षा र जनचेतनाको कमीले मतदानमा प्रभाव पर्ने मर्चवारी गाउँपालिकाको थर्की माविका प्रधानाध्यापक बलिराम यादव बताउँछन् ।

‘यहाँ जनचेतनाको स्तर कम छ । कतिपय मतदाता विकास भन्दा पनि प्रलोभनमा पर्ने गर्दछन् ।’ उनले भने ‘भइरहेका जनप्रतिनिधिसँग प्राय असन्तुष्ट हुन्छन् । त्यसैले मतदाताले नयाँको खोजि गर्दा चुनावमा कसैले पनि लगातार जितेका छैनन् ।’ पछिल्लो समय मर्चवारमा पूर्वाधार तर्फ केही विकास भएपनि शिक्षा र चेतनाको स्तर कम भएको यादवको भनाइ छ।

किसानले समयमा विउ मल नपाउने, डुबान लगायतका समस्या मर्चवारबासीले भोग्दै आएका छन् । सडक बनेपनि शिक्षा र स्वास्थ्यको अवस्था कम्जोर रहेको मर्चवार आदर्श क्याम्पसका क्याम्पस प्रमुख रामकेश पाल बताउँछन् ।

‘चार लेनको सडक मर्यादपुरसम्म बनेको छ, तर त्यसभन्दा दक्षिणको सडक साँघुरो छ । यहाँको क्याम्पसमा शिक्षा संकाय मात्र पढाइ हुन्छ । व्यवस्थापन, विज्ञान लगायत अरु विषय पढ्न भैरहवा जानुपर्छ ।’ उनले भने ‘स्वास्थ्यमा पनि आधारभूत सेवा कम छ । कृषि भुभाग धेरै भएकाले यहाँ व्यवसायीक कृषिलाई जोड दिनुपर्छ ।’

यतीबेला मर्चवारमा चुनावी माहोल बेस्सरी तातेको छ । उम्मेद्वारहरुले घरदैलो र सभा गरेर मत मागिरहेका छन् । तर कसले जित्छ भनेर अहिले नै अनुमान गर्न नसकिने क्याम्पस प्रमुख पालको भनाइ छ । ‘मौन अवधि भन्दा अघि केही संकेत देखिन्छ । तर अहिले नै कसले जित्छ भनेर केही अनुमान गर्न सकिन्न ।’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?