Butwal Today

आश्वासन मात्रै होइन, काम गरेर देखाऊ 

१५ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

गुल्मी, अर्घाखाँची र पाल्पाका मतदाताले सालझण्डी ढोरपाटन सडक छिटो सम्पन्न गर्न माग गर्दै उम्मेदवारहरूको ध्यानाकर्षण गराएका छन् ।

यो सडक खण्डको केही स्थानमा सडक पिचको काम नहुँदा सालझण्डीदेखि गुल्मी जान यात्रुले सास्ती बेहोर्दै आएका छन् । निश्चित रूपमा यो सडक अहिले मात्रै होइन, धेरै पहिलेदेखि नै समयमै सम्पन्न हुनुपर्ने स्थानीयको आवाज उठ्दै आएको हो तर यो सडकले जनतालाई सुविधा दिन सकिरहेको छैन ।

हरेक पटकको चुनावमा मात्रै मुद्दा बन्ने यो सडक कहिले पूरा होला ? उम्मेदवारहरूलाई समेत थाहा छैन । मतदाता भन्छन्–हरेक पटक चुनावी मुद्दा मात्रै नबनोस् । यस पटक यो आयोजना सम्पन्न गर्ने विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण होस् ।

वास्तवमा बागलुङको ढोरपाटन जोड्ने सडक निर्माणमा भइरहेको ढिलाइ नेपालका विकास आयोजनाको दुरावस्थाको पछिल्लो उदाहरण हो । त्यसो त निर्माण आयोजना समयमै सम्पन्न नहुनु नेपालको तीतो यथार्थ पनि हो ।

बुटवल नारायणगढ सडक खण्डले पनि यही चरितार्थ गरेको छ । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन बर्र्षौसम्म अलपत्र हुने गरेका छन् । बिडम्वना सडक निर्माण सुरु भएको डेढ दशक हुँदापनि पूरा नहुनु हेलचेक्राईको चरम नमूना हो ।

अधिकांश निर्माण कम्पनीले पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो पछिल्लो उदाहरण मात्र हो । निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् ।

जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । २०६६ सालमा रूपन्देहीको सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना अझै पूरा नहुनु विडम्वनाको बिषय हो ।

एकसय ९७ किलोमिटर लम्बाइको यो सडकको १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ भने बाँकी एकसय ८२ किलोमिटर सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले निर्माण गर्नुपर्ने बताइएको छ । फागुन २१ गते हुने चुनावका लागि दलका नेता र उम्मेदवारहरूको नजरमा यो सडक पनि परेको छ । उम्मेदवारहरूले बाचा पनि गरेका छन ।

गुल्मीका नेताहरूले निर्माण व्यवसायीलाई दवाव दिएरपनि यो सडक अव छिटो पूरा गर्ने बाचा गरेका छन तर विगतमा जस्तै बाचा कसममा मात्रै यो सडक सीमित नहोस् । हरेक चुनावमा उम्मेदवारको भोट माग्ने बहानामात्रै नबनोस् यो सडक ।

यो सडकका कारण जनताले पाएको सास्ती भनिसाध्य छैन । २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काममा पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपन, बिचमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा अघि बढेको हो ।

त्यसो त सवै कुराको भागिदार निर्माण व्यवसायीलाई मात्रै थोपरेर हुँदैन । स्थानीयले जग्गा विवादका तेर्साउँदा केही बर्ष सडक निर्माणको काममा अवरोध भएको थियो । तसर्थ निर्माण व्यवसायीलाई सहजरूपमा निर्माणको बाटो खोलीदिने काममा सरकार, स्थानीय पालिका तथा सम्बद्ध सरोकारवाला निकायको ध्यान जानैपर्दछ ।

वास्तवमा नेताहरूले यसलाई पहिलो प्राथमिकता मानेर सडक निर्माणमा ताकेता गरेको भए र स्थानीय विवाद समाधानमा अग्रसरता देखाएको भए उहिले नै सडक निर्माण सम्पन्न भैसक्थ्यो तर त्यो अवस्था रहेन । सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् ।

तर, समयमै सडक निर्माणको कुरा त परै जाओस अहिले निर्माणको काम सुस्त हुँदा अझै कति समयमा पूरा हुने हो भन्न सकिने अवस्था छैन । समयमै सडक नबन्दा हजारौं यात्रुले सास्ती पाउँदै आएका छन ।

यो लापरवाहीप्रति सम्वन्धित निकाय मौनताले प्रश्न जन्मिएको छ । यही रवैया र ढिलासुस्तीले नेपालको विकास कहिले होला ? सालझण्डी ढोरपाटन सडकमात्र होइन, नेपालका धेरै विकास आयोजनाले यही नियती भोगिरहेका छन् ।

अव यो सडकमा जसरी उमेदवारहरूले चासो दिएर छिटो सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन, चुनावपछि पनि उनीहरूको चासोमा यो सडक परोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?