© 2026
देश निर्वाचनमय बनेको बेला सोमवार बिहान भएको बस दुर्घटनाले मुलुकलाई नै स्तब्ध बनाएको छ ।
दुर्घटनामा १९ जनाको मृत्यु भैसकेको छ । अरू केही यात्रु गम्भीर घाइते छन् । सरकारले दुर्घटना छानबिन गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
तर, यो समितिले दिने प्रतिवेदन मन्त्रालयको दराजमा थन्किने बाहेक केही हुँदैन । देश एकातिर निर्वाचनमा होमिएको बेला भएको यो दुर्घटनाले एक पटक फेरी सोच्न बाध्य बनाएको छ ।
दुर्घटना नियन्त्रणमा ध्यान किन गएन ? त्यसो त दुर्घटना जानेर होइन, आकस्मिक वा लापरबाहीले हुने गर्छ । दुर्घटना रोक्न नसकिए पनि नियन्त्रण गर्न सकिन्छ । दुर्घटना नियन्त्रणमा ध्यान नजानुको कारणको खोजी गर्नेतर्फ सरकार वा सम्बन्धित निकायको ध्यान नगएकै हो । यसअघि गएको महिना बैतडीमा भएको जन्ती बस दुर्घटनामा ठुलो क्षति भएको थियो ।
दैनिक ५–७ को मृत्यु सामान्य बन्न थालेको छ । मुलुकमा दुर्घटनाको कहालीलाग्दो अवस्था छ । बैतडी दुर्घटनाको पाँच दिन अघि कालीकोटमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसो त दुर्घटनाका खबर आम सञ्चार माध्यममा दैनिकजसो सुन्नु परिरहेको छ । यस्तो लाग्छ– नेपालमा दुर्घटना नभएर कुनैपनि मानवीय क्षति नभएको दिन नै छैन् । हरेक दिनको दुर्घटनाका खबरले आम जनमानसलाई बिक्षिप्त वनाएको छ ।
कुनै दिन कम त कुनै दिन बढी दुर्घटनाका खबर सुन्नु नेपालीको लागि दिनचर्या जस्तै भैसकेको छ । दुर्घटनाको देश भनेर नेपालको परिचय दिनुपर्ने अवस्था आउनु दुर्भाग्यको विषय हो ।
त्यसअघि प्राकृतिक प्रकोपमा सवारीका साधन परेर यो बर्ष दुईसय बढीले ज्यान गुमाएका छन् । दुर्घटनाको यो सिलसिला सडकमा मात्र रहेन । यति र सौर्य एयरलायन्सको विमान दुर्घटनाको कुरा नेपालीको मन मस्तिष्कबाट अझै बिस्मृत भैसकेको छैन ।
दुर्घटनाका यी श्रृंखला कहिल्यै नसकिने पीडा बनेर बसेका छन् । दुर्घटनाका पछि धेरै पक्ष गैर जिम्मेवार देखिएका छन् । सडकको अवस्थामा सुधार नगर्ने सरकार दोषी छ । चालकले लापरवाहीपूर्वक चलाउँदा दुर्घटना बढेका छन् ।
त्यसमा चालक दोषी छन् । ट्राफिक प्रहरीले नजरानाका आधारमा सवारी साधन चेकजाँच नगर्नुका पछि उनीहरू दोषी छन् । यात्रुले समेत सवारी साधनको अवस्था नबुझिकन यात्रा गर्नुमा उनीहरू पनि दोषी छन् ।
सवैभन्दा बढी दोषी सरकार छ । सडक होस् या आकास, नेपाली भूमिमा भएका शृंखलाबद्ध यी दुर्घटनाले देशभित्र र बाहिर कस्तो सन्देश गइरहेको छ भन्ने बिषयमा खासै छलफल र बहस नहुनु चिन्ताको कुरा हो ।
कुरा के हो भने नेपालमा भैरहने यस प्रकारका श्रृंखलाबद्ध दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि बिग्रने अवस्था आएको छ । जसका कारण विदेशी पर्यटक आगमनमा भारी कमी आउने निश्चित छ ।
दुर्घटनाको बढ्दो सिलसिलाले देशभित्रकै नागरिकमा पनि यात्रा भनेकै जोखिमको पर्याय बनिरहेको छ भन्ने महसुस हुन थालेको छ ।
नेपालमा धेरै बिषयमा गहन बहस र छलफल हुँदै आएको छ । तर, दुर्घटना नियन्त्रणको कुरामा जहिलेपनि ट्राफिकको जिम्मा भन्दै पन्छिने प्रवृत्ति छ । बढ्दो दुर्घटना नियन्त्रणका लागि पहल नहुनुका पछि राजनीतिक दल, तिनका नेता, प्रशासनतन्त्र बढी जिम्मेवार छन् ।
दुर्घटना नियन्त्रणको सवालमा न त राज्य पक्ष कहिल्यै जिम्मेवार बन्यो न त राजनैतिक दलहरूले सरकारलाई दवाव दिए । विदेशमा सामान्य दुर्घटना हुँदा राजीनामा दिनुपर्ने अवस्था आउने गर्दछ तर नेपालमा दुर्घटनाको भागिदार कोही हुनुपर्दैन् ।
चिन्ताजनक विषय के छ भने नेपालमा हुने बस दुर्घटनामा ठुलो मानवीय क्षति हुँदा पनि सम्बन्धित निकायलाई पिराल्दैन । निर्वाचन आउन आठ दिन बाँकी रहँदा सडक दुर्घटना नियन्त्रण उम्मेवारको चुनावी एजेण्डामा परोस् ।