Butwal Today

बाँकेमा ३३ जना उम्मेदवारले खोले बैङ्क खाता

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

नेपालगन्ज । 

निर्वाचन खर्च प्रयोजनका लागि बाँकेमा ३३ जना उम्मेदवारले मात्रै बैङ्क खाता खोलेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये अहिलेसम्म १५ जनाले निर्वाचन खर्च प्रयोजनका लागि बैङ्क खाता नखोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १४ र क्षेत्र नम्बर ३ मा १० गरी ३३ जना उम्मेदवारले बैङ्क खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिका अधिकृत सर्वोदय उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिलेसम्म आठ जनाले खाता खोल्ने सिफारिस लगिसकेका छन भने  १५ जनाले अझै केही गरेका छैनन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत उपाध्यायले निर्वाचन खर्च प्रयोजनका लागि  फागुन ४ गतेभित्रै सबै उम्मेदवारले खाता खोलिसक्नु पर्नेमा हालसम्म पनि १५ जनाले खाता नखोलेकाले उनीहरूलाई पटक–पटक फोनमार्फत ताकेता गरिएको जानकारी दिए ।

“ताकेता गरिएको छ प्रतिबद्धता पनि छ तर कार्यान्वयन भएको पाइँदैन,” उनले भने ।  खाता नखोल्नेमा अधिकांश स्वतन्त्र उम्मेदवार रहेको अधिकृत उपाध्यायको भनाइ छ ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च नगरी निर्वाचन प्रयोजनका लागि छुट्टै बैङ्क खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ । सो व्यवस्था कार्यान्वयनको विषयमा निरन्तर अनुगमन भइरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको नाम, दल, क्षेत्र र बैङ्कको विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ५६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगले क्षेत्र नम्बर १ का लागि रु ३१ लाख  र क्षेत्र नम्बर २ तथा ३ का लागि रु २९ लाखसम्मको खर्चको सीमा तोकेको छ

। यसबिच, आज निर्वाचन क्षेत्र नं १ को कोहलपुरमा निर्वाचन आचारसंहिता पालना सम्बन्धमा उम्मेदवारहरूसँग छलफल गरिएको छ ।

आचारसंहिता अनुगमन समितिका अधिकृत पूर्णबहादुर खत्रीले निर्वाचन क्षेत्र नं १ मा खासगरी टिसर्ट र टोपीको प्रयोग बढी भएको उजुरी भएकाले त्यसलाई हटाउन उम्मेदवारहरू सहमत भएको जानकारी दिए ।

“जिल्लाको अन्य निर्वाचन क्षेत्रमध्ये समग्रमा राम्रो छ, केही समस्या देखिएका छन् त्यसलाई समाधान गरिने छ,” उनले रासससँग भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?