© 2026
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशका ६ जिल्लालाई लक्षित गर्दै भैरहवामा विशाल ‘परिवर्तन उद्घोेष सभा’ आयोजना गर्ने भएको छ । आसन्न निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको उक्त सभामा करिब एक लाख मानिस सहभागी गराउने लक्ष्य राखिएको मूल आयोजक समितिले जनाएको छ ।
सभाको तयारी र उद्देश्यबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक सन्तोष गिरीले कार्यक्रमलाई व्यवस्थित, छोटो र सन्देशमुखी बनाइने बताए । उनका अनुसार सभास्थलका रुपमा रूपन्देहीको सिद्धार्थनगर–८, अञ्चलपुरस्थित खुला मैदान चयन गरिएको छ, जहाँ ८० हजारभन्दा बढी मानिस अट्न सक्ने प्राविधिक व्यवस्थापन गरिएको छ ।
“इन्जिनियरिङ डिजाइनमार्फत प्रवेश–निर्गमन, मञ्च व्यवस्थापन, ध्वनि प्रणाली र आपतकालीन मार्गको व्यवस्था मिलाइएको छ,” संयोजक गिरीले भने, “कार्यक्रमलाई भीड व्यवस्थापनका दृष्टिले सुरक्षित र अनुशासित बनाइनेछ ।”
रास्वपाले साविक लुम्बिनी अञ्चलअन्तर्गतका अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी (पश्चिम), कपिलवस्तु र रुपन्देही जिल्लाका नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । जिल्ला–जिल्लाबाट यातायात समन्वय, स्वयंसेवक परिचालन र क्षेत्रगत जिम्मेवारी तोकिएको जनाइएको छ ।
रास्वपाले पुरानो राजनीतिक शैलीलाई परिवर्तन गर्दै ‘छोटो र छरितो’ कार्यक्रमको अभ्यास गर्ने जनाएको छ । संयोजक गिरीका अनुसार घण्टौँ लामो भाषणको परम्परालाई त्यागेर करिब दुई घण्टाभित्रै कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा साविक ६ वटै जिल्लाबाट रास्वपाका उम्मेदवार सहित पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
“यो सभा शक्ति प्रदर्शनका लागि मात्र होइन, परिवर्तनप्रतिको हाम्रो प्रतिबद्धताको उद्घोेष हो,” गिरीले भने, “जनतालाई दुःख दिने, सडक अवरुद्ध गर्ने वा असहजता सिर्जना गर्ने हाम्रो उद्देश्य होइन ।”
चुनाव नजिकिँदै गर्दा कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखिएको र स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय भइसकेको आयोजकले जनाएको छ । सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सहायता टोली, एम्बुलेन्स र आपतकालीन रेस्क्यु तयारीसमेत मिलाइएको जानकारी गिरीले दिए ।
रास्वपाले उक्त सभामार्फत ‘जनता प्रधान राजनीति’को सन्देश प्रवाह गर्दै पुरानो राजनीतिक संस्कृतिमा देखिएका विसंगतिलाई चिर्दै नयाँ राजनीतिक अभ्यासको थालनी गर्ने दाबी गरेको छ ।