© 2026
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आसन्न निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरेका छन् । धनगढीमा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले आफ्नै हातले इतिहास लेख्ने अवसर आएको बताएका हुन् ।
‘देशका लागि अब एकसाथ हिँड्नुपर्छ भनेर रवि–बालेनहरू भोलि आउँछन्, आउँदैनन् थाहा छैन । तर, अहिले आएका छन्,’ लामिछानेले भने, ‘यसलाई राष्ट्रिय अवसर र उत्सवका रूपमा लिनुपर्छ ।’ लामिछानेले जनताका अधिकारलाई माग बनााएर वर्षाैंसम्म अल्झाउन काम अब बन्द हुनुपर्ने बताए ।
‘सटर त एउटा बन्द हुनुपर्छ,’ उनले भने, ‘कि हाम्रो बन्द हुनुपर्छ, कि अरुको । कुशासनको, बेथिति, बेरोजगारी र अशिक्षाको सटर बन्द गर्ने हो । २१ गते इतिहास रच्ने हो ।’
पार्टीको एजेन्डा वर्षाैंसम्म भोट बैंक बनाउने र जनताको मागलाई घोषणापत्रमा लेख्ने युगलाई बन्द गर्ने लामिछानेको दाबी छ ।
‘जनताको माग हो, पूरा गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षको स्थायी सरकार मागेका छौँ । पहिलोपटक कुनै राजनीतिक दलले जनतासँग सम्झौता गरेको छ ।’ उनले समानुपातिक र प्रत्यक्षतर्फ मत नबाँड्न आग्रह गर्दै देशको अस्तित्व जोगाउन रास्वपाको पक्षमा मतदान गर्न आग्रह गरे ।