Butwal Today

निर्वाचनमा तराईका सीमा व्यवस्थापन गर्न एआइजीको निर्देशन

२ फाल्गुन २०८२, शनिबार
अ+
अ-

भैरहवा ।
भारत सँगको खुला सिमानाका कारण निर्वाचन प्रभावित पार्ने गतिविधि हुन नदिन सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी वंशीराज दाहालले मातहतका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

शनिवार सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर, भैरहवा मा आयोजित कार्यक्रममा उनले निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा उच्च अधिकृतलाई प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। सीमा सुरक्षा विभाग प्रमुख समेत रहेका दाहालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला शान्ति सुरक्षा कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले तराईका सिमावर्ती जिल्लाको स्थलगत अनुगमन गरिरहेका छन्।

उनले खुला सिमाना रहेको भारत सँग जोडिएका जिल्लामा निर्वाचनविरुद्ध हुनसक्ने अवाञ्छित गतिविधिप्रति पूर्वसजगता अपनाउँदै भरपर्दो सुरक्षा योजना बनाउन निर्देशन दिएको बताए। साथै, विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी संकलन गर्ने कार्य पनि जारी रहेको उनले जानकारी दिए। दाहालले पाँच दिनअघि डोटी बाट स्थलगत निरीक्षण सुरु गरी सुदूरपश्चिम हुँदै लुम्बिनी प्रदेश आइपुगेका हुन्। आगामी दिनमा मधेश प्रदेश र कोशी प्रदेशका जिल्लामा पनि निरीक्षण गरिने उनले बताए।

निर्वाचनको समयमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई तत्काल समाधान गर्न, सुरक्षाकर्मीको प्रभावकारी परिचालन, सीमा निगरानी तथा समन्वय प्रणालीलाई मजबुत बनाउने विषयमा तयार गरिएका सुरक्षा योजनाबारे समेत छलफल, विश्लेषण र परामर्श गरिएको दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?