© 2026
‘एआई एक साधन हो, आवाज होइन’ भन्ने नाराका साथ आज विश्वभरि १३ औं विश्व रेडियो दिवस मनाइँदै छ ।
एआईको बढ्दो प्रभावले रेडियो समेत प्रभावित हुने अवस्था आएपछि यो दिवसको नारा नै एआई साधनमात्रै हो, वास्तविक आवाज होइन भन्ने तय गरिएको छ । निश्चितरूपमा एआई कृत्रिम बुद्धिमत्ता मात्रै हो ।
यसले क्षणिक प्रभाव पार्न सक्छ तर वास्तविक आवाज त्यो भन्दा कैयौं गुणा सशक्त र प्रभावकारी हुन्छ । रेडियोको भूमिकालाई अझै सशक्त बनाउन तथा यसको योगदान स्मरण गर्न हरेक बर्ष विश्वभरी १३ फेबु्रअरीमा यो दिवस मनाउने गरिएको छ ।
सन. २०११ मा युनेस्कोले विश्व समुदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सशक्त ढङ्गले योगदान पु¥याएको भन्दै फेब्रुअरी १३ को दिनलाई विश्वभर विश्व रेडियो दिवसको रूपमा मनाउने घोषणा गरेको हो ।
त्यसयता नेपालमा समेत विभिन्न कार्यक्रम गरि रेडियो दिवस मनाउने गरिएको छ । स्वरका अभियन्ताहरू कलाकार, पत्रकार सवैले आजको दिनलाई विशेषरुमा स्मरण गर्दै दिवस मनाउने औपचारिकता पूरा गरिन्छ । त्यसले आजको दिन विश्वका रेडियो र रेडियोकर्मीको लाखौंलाख श्रोताका लागि विशेष दिन बनेको छ । विश्व सूचना युगको महादौडमा रेडियो सशक्त र प्रभावकारी माध्यम हो ।
यसको प्रभाव अहिलेपनि कायमै छ । तर, पछिल्लोसमय रेडियाका श्रोता घटदै गएका छन् । रेडियोको स्थान मोबाइलले लिएको छ । यद्यपि रेडियोले प्रसारण गरेपछि मात्रै मोबाइलमा बज्ने हो हो तसर्थ पहिले त रेडियोको भूमिका नै सशक्त र प्रभावकारी हुन्छ ।
आजभन्दा केही बर्ष अगाडीसम्म रेडियो समाचार, सन्देश, शिक्षा र मनोरञ्जनको मूख्य आधार थियो । रेडियोको अगाडि बसेर समाचार, गीत संगीत सुन्ने ती दिन सुनौला थिए । अव रेडियोको स्थान एआईले लिने चिन्ता थपिएको छ । इतिहासकै कुरा गर्दा नेपालमा रेडियोको सुरुवात विक्रमसम्बत २००७ सालमा भएको हो । एक समय रेडियो नै सूचना साम्राज्य थियो ।
नेपालमा २०४६ अघि रेडियो नेपालको विकल्प थिएन । रेडियो भनेकै रेडियो नेपाल थियो । बिबिसी र भारतबाट प्रसारण हुने अलइण्डिया रेडियोबाट नेपाली कार्यक्रम प्रसारण हुन्थ्यो र श्रोताका लागि ती सूचना सामाग्री समाचारका श्रोत हुन्थ्यो । विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई निश्चय नै सम्मानका साथ हेरिने गर्दछ । नेपालमा प्रजातन्त्र पुनस्र्थापनामा पनि रेडियोको भूमिका महत्वपूर्ण थियो । सर्टवेभमा आउने बिबिसीले नेपालमा प्रजातन्त्रको बिगुल फुकेको थियो ।
अन्य समाचार श्रोत नहुँदा श्रोताका लागि हरेक दिन साँझ पौने नौं बजे आउने बिबिसी नेपाली सेवा सुनेर आफ्नो धारणा बनाउनुपर्ने अवस्था थियो । विज्ञानले नयाँ नयाँ प्रविधि र आविष्कार गर्दैगयो । फलस्वरूप आजको दिन र अवस्था आईपुगेको छ । नेपालमा जब २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो, त्यसपछि नेपाल सूचना युगमा प्रवेश ग¥यो ।
एफएम, पत्रपत्रिका र टेलिभिजनको बाढी आयो । तर अहिले युग र प्रविधिको परिवर्तनले ३० बर्ष पुग्दा नपुग्दै रेडियो र पत्रपत्रिका विस्थापित हुने अवस्था आएको छ । सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको छ । हरेक दिन नयाँ नयाँ प्रविधिको विकासले विश्व सूचना संसार साँघुरिएको छ ।
त्यसमाथि एआईको प्रभावले सवै क्षेत्रलाई प्रभावित वनाएको अवस्था छ । मानव सभ्यताको विकासमा रेडियोले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपनि अहिले ती लोप हुने अवस्थामा पुगेका छन् ।
सहर बजारमा रेडियो सुन्ने श्रोता नै घटेका छन भने गाउँघरमा पनि श्रोताको संख्या घटदै गएको छ । यो बर्षको रेडियो दिवसको नाराले भनेजस्तै एआई काल्पनिक हो । वास्तविक आवाजको प्रतिनिधित्व रेडियोले गर्दछ । विश्व रेडियो दिवसको शुभकामना ।