Butwal Today

बदलिएर आएको काँग्रेस निर्वाचनबाट ठूलो पार्टी बन्छ : उपसभापति शर्मा

२९ माघ २०८२, बिहीबार
अ+
अ-

भैरहवा, २९ माघ ।

नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रूपमा आउने बताएका छन् ।

काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरि ठूलो दलको रूपमा देशको नेतृत्व गर्ने गरी बहुमततर्फ अग्रसर रहेको बताए । उनले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त सूचना अनुसार काँग्रेस पहिलो पार्टी बन्ने पनि बताए ।

शर्माले भने, “काँग्रेसले धेरै निर्वाचन जितेको छ । जित्ने कुरा हाम्रा लागि नयाँ होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जीवनमा नयाँ होइन । तर यो निर्वाचन अन्य चुनावभन्दा विशेष, गहन र गम्भीर छ ।”

उनले २०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार र संसद भवन किन जल्यो ? अरबौं–खरबौंको क्षति किन भयो ? देशमा निराशा किन आयो ? जस्ता प्रश्न उठाउँदै मतदातालाई यथार्थ बुझेर मतदान गर्न काँग्रेसले आग्रह गर्ने बताए ।

देशमा मन जलेको, विश्वास टुटेको र मान्छेको मन भाँचिएको अवस्था रहेको उनले बताए । उनले थपे, “यो बेला जेनजी विद्रोह सबै गलत भयो भन्न सकिँदैन, भदौ २३ अघि सबै ठीक थियो पनि भन्न सकिँदैन ।”

पुराना दिन गए भन्न नमिल्ने उनले उल्लेख गर्दै भने, “यो धर्तीमा सबैभन्दा पुरानो कुरा धर्ती नै हो, नयाँ भनेको जन्ममितिले होइन, सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको काँग्रेस नै नयाँ काँग्रेस हो ।”

शर्माले जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको बताए र संसार बदल्नुछ भने आफूबाटै सुरुवात गर्नुपर्नेमा जोड दिए ।

पूर्व गृहमन्त्री तथा काँग्रेसका पूर्व केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी फागुन २१ गते हुने निर्वाचनमा काँग्रेसको बहुमत आवश्यक रहेको बताए । उनले सबै नेता कार्यकर्तालाई एकताबद्ध भएर उम्मेदवार जिताउन आग्रह गरे ।

काँग्रेस नेतृत्वको सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाएको र यसको सञ्चालन गर्ने कार्य पनि काँग्रेस नेतृत्वमै रहेको उनले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले मुलुकका समस्या समाधान काँग्रेसले मात्रै गर्न सक्ने बताए । उनले उपलब्धिहरूलाई संस्थागत गर्न चुनावमा काँग्रेसको जित आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत कुमार शाहले काँग्रेस बदलिएको र देश बदल्न आवश्यक रहेको बताए । उनले देशलाई भ्रष्टाचारमुक्त बनाउन जोड दिए ।

काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समिति संयोजक राजु खनालले फागुन २१ पछि काँग्रेस नेतृत्वको सरकार बनेपछि मात्रै जेनजी पुस्ताले उठाएको माग सम्बोधन हुने बताए । उनले संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

कार्यक्रममा काँग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, पूर्व केन्द्रीय सदस्य गंगा शाही लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?