Butwal Today

नेकपा पाल्पाले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धतापत्र

२९ माघ २०८२, बिहीबार
अ+
अ-

पाल्पा, २९ माघ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी पाल्पाले क्षेत्र नं. २ का लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पाल्पा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ सोमप्रसाद पाण्डेय र समानुपातिकतर्फ पार्वती वि.क. लाई उम्मेदवार बनाइएको छ । पार्टीका पाल्पा क्षेत्र नं. २ का नेता अशोककुमार शाहीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै नेता शाहीले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गुरुयोजना निर्माण गरिने बताए । सिद्धबाबा–तानसेन–भैरवस्थान–ऋषिकेश–रानीमहल र राम्दीलाई जोडेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने, अंग्रेजसँगको लडाइँमा विजय हासिल गरेको गौरवपूर्ण इतिहास र वीरतासँग जोडेर पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको एकीकृत विकास गुरुयोजना तयार गरिने जानकारी दिइयो ।

सडक पूर्वाधारतर्फ सिद्धबाबा सुरुङमार्ग समयमै सम्पन्न गर्न तथा सिद्धार्थ लोकमार्ग स्तरोन्नति गर्न आवश्यक पहल गरिने जनाइएको छ । प्रदेश गौरवको आयोजनाका रूपमा रहेको हार्थोक–बतासे–छहरा सडकलाई संघीय सरकारमार्फत स्रोत व्यवस्थापन गरी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने र कालीगण्डकी करिडोरअन्तर्गत राम्दी–रानीघाट खण्डको निर्माण कार्य तदारुकताका साथ अगाडि बढाइने उम्मेदवार सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

पर्यटन पूर्वाधार विकासतर्फ भैरवस्थान, रणउजिरेश्वरी, अमरनारायण, ऋषिकेश, रानीघाट, नुवाकोटगढी, बल्ढेङ्गढी, जलेश्वर, शिवसान, दर्लमडाँडा, बगनासदेवी, रेनुकादेवी, कालिका थानलगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरिएको छ । पाल्पा दरबार र रानीमहललाई विकास समितिमार्फत राष्ट्रियस्तरको आकर्षक गन्तव्य बनाइने जनाइएको छ ।

माडीमा माण्डव्य सरोवर र रुरुक्षेत्रमा हृषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने, तानसेन, नुवाकोट, बसन्तपुर, बतासे, छहरा र तिनाउगिरीलाई हिलस्टेसनका रूपमा प्रवर्द्धन गरी पर्यटकीय केन्द्र बनाइने योजना छ । तानसेन–नायर–राम्दी, भैरवस्थान–रिडी र लेकलगायतका क्षेत्रमा ट्रेकिङ रुट विकास गर्ने तथा जिपलाइन, स्काइ साइकलिङ र बञ्जी जम्पको सम्भाव्यता अध्ययन गरी निर्माण गरिने प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरी तानसेन, बौघागुम्बा, डाँडाझुम्म, जनितलुङ्ग, मरामकोटलगायतका क्षेत्रमा होमस्टेको गुणस्तर अभिवृद्धि गरिने उल्लेख छ ।

रिब्दीकोटमा सेनकालीन दरबार, तानसेन श्रीनगरमा विशाल बुद्धमूर्ति तथा गुफाचौरमा विश्वकै अग्लो गणेशमूर्ति स्थापना गरिने जनाइएको छ । साथै पाल्पामा विमानस्थल निर्माणका लागि सम्भाव्यता तथा प्राविधिक अध्ययन गर्न बजेट व्यवस्थापनका लागि पहल गरिने पार्टी नेता अनिलकिशोर घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?