Butwal Today

दाङ निर्वाचन क्षेत्र २:  संस्थापक मुख्यमन्त्रीको चुनावी परीक्षा

२७ माघ २०८२, मंगलवार
अ+
अ-

लमही ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङलाई राष्ट्रको नेतृत्वकारी भूमिकामा पु¥याउने समय आएको बताएका छन् ।

दाङलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता पूरा भइसकेको उल्लेख गर्दै उनले अब तुलसीपुर विमानस्थल बिस्तार गरी ७२ सिटे जहाज उडान–अवतरण गराउने घोषणा गरेका हुन् ।

आगामी निर्वाचनलाई लक्षित गर्दै दाङवासीसँग मत माग्दै पोखरेलले सङ्घीयता कार्यान्वयनदेखि पूर्वाधार विकाससम्म आफूले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे । ‘लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्रीका रूपमा सङ्घीयताको आधार तयार गरेँ, दाङको विकासका लागि आधारभूत फाउन्डेसन निर्माण गरेँ,’ उनले भने ।

‘दाङलाई ‘पानीमुनिको पुल भएको जिल्ला’ भनेर चिनिने अवस्थाबाट बाहिर निकाल्दै जिल्लाको पहिचान बदल्ने कामको नेतृत्व गरेको उनको भनाइ छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गर्दै उनले प्रमुख अस्पतालहरूलाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासम्म विस्तार गर्न सहजीकरण गरिएको र उच्च प्राविधिक शिक्षाको आधारशिला तयार पारिएको बताए ।

“जति बेला दाङको प्रतिनिधित्व गर्ने अवसर पाएँ, दाङवासीको गौरव बढाउने काम गरेँ । पराजय व्यहोर्दा पनि जिल्लावासीकै सेवामा निरन्तर समर्पित रहें,” पोखरेलले भने । ‘अब ज्ञापनपत्र बोकेर हिँड्ने होइन, बुझ्ने, निर्णय गर्ने र कार्यान्वयन गर्ने दाङ बनाउने सङ्कल्पसहित निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न उनले दाङवासीसँग आग्रह गरेका छन् ।

‘दाङको विकास, दाङवासीको सम्मान सबल दाङ, समृद्ध नेपाल’ भन्ने नारासहित पोखरेलले आफ्ना प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गरेका छन् । ‘२०५१ सालयता पोखरेल जति पटक निर्वाचनमा उम्मेदवार बने, एउटै व्यक्तिसँग दोहोरिएर प्रतिस्पर्धा भएको छैन ।’ यसपालि पोखरेलको प्रतिस्पर्धा नेपाली काँग्रेसका किरण किशोर घिमिरेसँग हुँदै छ ।

किरण किशोरका दुई जना सहोदर दाजु विगतमा पोख्रेलका प्रतिस्पर्धी थिए । तीमध्ये एक जनासँग पोख्रेल पराजित भएका थिए भने अर्कालाई पराजित गरेका थिए । ‘२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा पोख्रेलको प्रतिस्पर्धा किरण किशोरका जेठा दाजु कृष्ण किशोर घिमिरेसँग भएको थियो ।

उक्त चुनावमा कृष्ण किशोर १९ हजार ७२ मत ल्याएर विजयी हुँदा पोख्रेलले ११ हजार ६४७ मत प्राप्त गरेका थिए । त्यसको १८ वर्षपछि, २०७४ सालको प्रदेशसभा निर्वाचनमा पोख्रेलको भेट किरण किशोरका साइँला दाजु कमल किशोर घिमिरेसँग भयो । एमाले–माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पोख्रेलले २० हजार ७२३ मत ल्याउँदै काँग्रेस उम्मेदवार कमल किशोरलाई १ हजार ५५१ मतान्तरले पराजित गरे ।

२०७९ मा नेपाली काँग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार रेखा शर्मासँग झिनो मतले हार बेहोर्नु परेको थियो । माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८ सय ७७ मत ल्याएकी छन् । पोख्रेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

उनीहरूबिच १ सय ९६ मतान्तर थियो । दाङ क्षेत्र नम्बर २ मा क्षेत्रमा कुल मतदाता १ लाख ४० हजार ९४६ छन्। अघिल्लो चुनावभन्दा ७ हजार २३६ नयाँ मतदाता थपिएका छन् । यसपालि कुनै पनि पार्टीको गठबन्धन छैन । काँग्रेस र माओवादीका आ–आफ्नै उम्मेदवार भएकाले पहिलेजस्तो अरू पार्टीको भोट तान्न पोख्रेललाई सजिलो हुने छैन । त्यसमाथि जेनजी आन्दोलन बेला सरकारको नेतृत्वमा रहेको एमालेले युवा पुस्तालाई आकर्षित गर्न सकेको छैन । यी सबैको फाइदा रास्वपाले उठाउने देखिन्छ ।

पोख्रेलले भने यसपालि जनताले आफ्नो पक्षमा भोट दिने दाबी गरेका छन् । दाङ माओवादी र काँग्रेस दुवैको प्रभाव क्षेत्र रहेको जिल्ला हो । यस्तो क्षेत्रमा ती दुवै पार्टीले गठबन्धन गर्दा पनि एमाले २ सयभन्दा कम मतान्तरले मात्र पराजित भएको थियो । नेकपा एमालेका वरिष्ठ नेता शालिकराम खनाल भन्छन्, “अहिले राजनीतिक दलहरू एक्ला एक्लै चुनाव लडेको अवस्था छ ।

विगतमा शङ्कर पोखरेलले चुनाव हार्दा दाङले धेरै अवसर गुमायो भनेर दंगाली जनताबिच छलफलको विषय बनेको मैले अनुभव गरेको छु । त्यसैले यसपालि दंगाली जनता राष्ट्रिय राजनीतिमा दाङको भूमिका स्थापित गर्न शङ्कर पोखरेललाई जिताउने निष्कर्षमा पुगेका छन् ।”

अर्कातिर, नेपाली काँग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले पनि आफ्नो गुमेको विरासत फर्काउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । नेपाली काँग्रेसका क्षेत्रीय सभापति भीमप्रकाश खड्का विशेष महाधिवेशन पछि काँग्रेसको पक्षमा सकारात्मक माहोल बनेको बताउँछन् ।

यसअघि हामीले रूख चिह्नमा भोट हाल्न पाएनौं भन्ने मतदाताको गुनासो थियो । त्यति बेला हाम्रो भोट रास्वपाले तान्यो । अहिले त्यस्तो छैन । विशेष महाधिवेशनपछि हाम्रो पक्षमा सकारात्मक वातावरण बनेको छ,’ उनले भने,’ त्यसमाथि आन्तरिक विवाद पनि केही नभएकाले अरूलाई भोट हाल्नुपर्ने अवस्था म देख्दिनँ ।’ तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लागि पनि परम्परागत माओवादी प्रभावलाई निरन्तरता दिनु चुनौतीपूर्ण छ ।

नेकपाले दाङ–२ मा निर्मल आचार्यलाई उम्मेदवार बनाएको छ । रूकुम, रोल्पाबाट बसाइँ सरेर आएका धेरै माओवादी मतदाता यो क्षेत्रमा बस्ने हुँदा यसपालि पनि आफ्नो जितले निरन्तरता पाउनेमा नेकपा ढुक्क देखिन्छ । यहाँ रास्वपाबाट सहमहामन्त्री विपिन आचार्य उठेका छन् । उनी दाङकै क्षेत्र नम्बर ३ का बासिन्दा हुन् । उनको घर दाङ क्षेत्र नम्बर २ मा पनि छ ।

उनले यो क्षेत्र रोजेपछि यसअघिको चुनावमा १५ हजार मत ल्याएका विशाल अधिकारी असन्तुष्ट छन् । एउटाले सम्पूर्ण तयारी गरेको छ, अर्को उम्मेदवार आउँदा असन्तुष्टि त हुने भइहाल्यो नि ! यस्तो बेला उम्मेदवारको आकांक्षा नेतृत्वले बुझ्नुपर्थ्यो,’ अधिकारीले भने, ‘टिकट वितरणमा विधान अनुसारको विधि लागू भएको भए एउटा कुरा हुन्थ्यो, तर नेतृत्वले स्वविवेकका आधारमा टिकट दियो ।’

टिकट वितरणमा असन्तुष्ट भए पनि चुनावी मैदानमा आफू पूर्ण रूपले पार्टी निर्णयको पक्षमा उभिएको र सहमहामन्त्री आचार्यलाई जिताउने अभियानमा लागेको अधिकारीले बताए । अहिलेको निर्वाचन सामान्य परिस्थितिमा हुन लागेको निर्वाचन होइन ।

एउटा क्रान्तिपछि राजनीतिक एजेन्डा बोकेर निर्वाचन हुन लागेकाले यसको प्रत्यक्ष लाभ रास्वपालाई हुनेछ,’ उनले भने, ‘हाम्रो स्थिति पनि पहिलेभन्दा फरक छ । पहिले हामी एक्लैजस्तो थियौं, अहिले हामीसँग संगठन छ ।

पार्टी सदस्यहरू जनतामाझ पुगेका छन् । यसअघिको चुनावमा ल्याएको १५ हजार मत जोगाउँदै नयाँ मतदाता आकर्षित गर्ने र अरू दलका परम्परागत मतदाताको थप मत तान्ने रास्वपाको रणनीति देखिन्छ । तर काँग्रेस र एमाले दुवैले गठबन्धन नगरी आफ्ना प्रभावशाली उम्मेदवार उठाएकाले अझै मिहिनेत गर्नुपर्ने अधिकारी बताउँछन् ।

यस प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्यले अप्रत्याशित बाजी मार्न सक्ने सम्भावनाले पनि चुनावी चर्चा तातेको छ । ‘फागुन २१ गतेको मतदानपछि मात्रै यसको अन्तिम नतिजा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?