© 2026
बुटवल ।
प्रतिनिधिसभा निर्वाचनको झल्को दिने गरी लुम्बिनी बौद्ध विश्वविद्यालय, स्कुल अफ ल (सिटी क्याम्पस बुटवल) मा प्रथम एलबीयू नमुना निर्वाचन सम्पन्न भएको छ । विश्वविद्यालयअन्तर्गत सातौँ सेमेस्टरका विद्यार्थीहरूको आयोजनामा आइतबार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष प्रणालीमा आधारित नमुना निर्वाचन सम्पन्न गरिएको हो ।
बुटवलको नयाँगाउँस्थित सिटी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले वास्तविक निर्वाचन प्रक्रिया अनुसार दल गठन, उम्मेदवारी घोषणा, घोषणापत्र सार्वजनिक, प्रचारप्रसार र मतदान प्रक्रिया अभ्यास गरेका थिए । सहभागीहरूले यस अभ्यासले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार विकास गर्न र जिम्मेवार मतदाता तथा सक्षम नेतृत्व निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
कार्यक्रममा बोल्दै मानविकी तथा कानून संकायका डिन डा. हरीशरण चखुँले निर्वाचन प्रक्रिया बुझ्नु केवल अभ्यास मात्र नभई लोकतन्त्रलाई जीवन्त राख्ने आधार भएको बताए । उनले विद्यार्थीहरूले प्राप्त गरेको अनुभवले दीर्घकालीन नेतृत्व विकास र सामाजिक उत्तरदायित्व बहनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
स्कुल अफ ल का निर्देशक बद्रीप्रसाद शर्मा गौतमले नमुना निर्वाचन अभ्यासले कानूनका विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानमा सीमित नराखी लोकतन्त्रको व्यवहारिक पक्ष बुझ्न महत्वपूर्ण अवसर प्रदान गरेको बताए ।
६ वटा दलबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न नमुना निर्वाचनमा नव युवा नेतृत्व पार्टीका उम्मेदवार विविश पाण्डे अत्यधिक मतका साथ विजयी भएका छन् । समतामूलक समाज दलकी उम्मेदवार मनिषा न्यौपाने उत्कृष्ट घोषणापत्र प्रस्तुत गर्ने उम्मेदवारका रूपमा चयन भएकी छन् । विजेताहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा स्कुल अफ ल का निर्देशक बद्रीप्रसाद शर्मा गौतम, मानविकी तथा कानून संकायका डिन डा. हरीशरण चखुँ, सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारी, प्राध्यापक डा. नारायण संग्रौला, प्राध्यापक मेघनाथ खनाल, लालबहादुर बस्नेत, जे.बी. क्षेत्री, राजीव भारद्वाज, सुवर्ण सापकोटा, श्रद्धा सुमन गुरुआचार्य, विनय पाठक, सागर पन्थी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बीएएलएलबी सातौँ सेमेस्टरअन्तर्गत अध्यापन गरिने निर्वाचन कानून विषयलाई व्यवहारिक रूपमा बुझाउन आयोजना गरिएको हो । कार्यक्रमले लोकतन्त्र सुदृढ बनाउन निर्वाचनप्रति सचेतना र व्यवहारिक ज्ञान आवश्यक रहेको सन्देश दिएको छ ।
प्रमिशा घिमिरेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अंशु भण्डारी र गिरीराज रेग्मीले गरेका थिए । कार्यक्रममा नमिता गैरेले स्वागत मन्तव्य राखेकी थिइन् भने विषय शिक्षक सुवर्ण सापकोटा तथा विद्यार्थी ईसराफिल आलम, विष्णु गौतम लगायत निर्णायक मण्डलमा रहेका थिए । नमुना जिल्ला निर्वाचन अधिकृत अस्मी खड्काले विजेता उम्मेदवारको नतिजा घोषणा गरेकी थिइन् ।
निर्वाचन प्रहरीको उपस्थितिसहित सञ्चालन गरिएको नमुना निर्वाचनले वास्तविक निर्वाचनको सम्पूर्ण झल्को प्रस्तुत गरेको थियो । यस अभ्यासले विद्यार्थीहरूलाई वास्तविक निर्वाचनको अनुभव प्रदान गर्दै आगामी राष्ट्रिय निर्वाचनमा जिम्मेवार र सचेत मतदाता बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।