Butwal Today

रुपन्देही क्षेत्र नम्बर ५ : शाहको अन्तिम मैदान, भट्टराईको पहिलो परीक्षा 

२६ माघ २०८२, सोमबार
अ+
अ-
बुटवल, २६ माघ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर–५ यस पटक सामान्य चुनावी प्रतिस्पर्धाको केन्द्र मात्र नभएर पुस्तान्तरण र नयाँ अनुहारसँगको प्रतिस्पर्धाको मैदान बनेको छ ।
झन्डै तीन दशकदेखि संसदीय राजनीतिमा सक्रिय रहँदै आएका नेपाली काँग्रेसका नेता भरतकुमार शाहका लागि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन राजनीतिक यात्राको अन्तिम परीक्षा बन्दै छ । छ पटक उम्मेदवार बनेका शाह आफैले यो निर्वाचनलाई आफ्नो ‘अन्तिम चुनाव’ भएको घोषणा गरिसकेका छन् ।
विकास प्रेमी नेताको छवि बनाउँदै आएका शाह मतदाताको घरघरमा पुगेर “यो अन्तिम पटक हो” भन्दै समर्थन मागिरहेका छन् । उनको यो शैलीले मतदातामा सहानुभूति जगाउने प्रयास देखिए पनि अर्कोतर्फ यसले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बहसलाई समेत बल दिएको छ ।
शाहको संसदीय यात्रा २०५६ सालदेखि सुरु भएको हो । त्यसयता निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका शाहले त्यति बेला एमालेका स्वर्गीय रामनाथ ढकाललाई पराजित गरेका थिए । शाहले १७ हजार २०४ मत प्राप्त गर्दा ढकालले १५ हजार २८३ मत ल्याएका थिए ।
पहिलो निर्वाचनमै विजयी बनेका उनले त्यसपछि राजनीतिक उतार–चढाव दुवै भोग्नु प¥यो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजय भने पराजय व्यहोरेका शाह २०७० को दोस्रो संविधानसभामा पुनः विजयी हुन सफल भए ।
त्यसपछि २०७४ को सङ्घीय निर्वाचनमा जित हात पार्न सफल भए पनि २०७९ को निर्वाचनमा भने पराजय भोग्नुप¥यो । पाँच निर्वाचनमा तीन जित र दुई हारको अनुभव बोकेका शाह यस पटक छैटौँ पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।
२०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका डिलाराम आचार्यलाई शाहले ठुलो मतान्तरले पराजित गरेका थिए । शाहले ३३ हजार ८८ मत प्राप्त गर्दा आचार्यले जम्मा २० हजार ४३८ मत प्राप्त गरेका थिए ।
गत निर्वाचनमा रुपन्देही–५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका थिए । उनले नेपाली काँग्रेसका उम्मेदवार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका थिए । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका थिए ।
तर, यस पटकको चुनाव अघिल्लाभन्दा फरक देखिएको छ । कारण, काँग्रेस नेता शाहको सामु युवा पुस्ताको सङ्गठित चुनौती देखिएको छ । नेकपा एमालेले युवा नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यही प्रतिस्पर्धाले रुपन्देही–५ लाई ‘हेभिवेट र युवा’ चुनावी क्षेत्र बनाएको छ ।
भट्टराईको राजनीतिक भूमिका यसअघि नै यही क्षेत्रमा प्रभावशाली रहँदै आएको मानिन्छ । २०७९ को निर्वाचनमा एमालेबाट टिकट नपाए पनि उनले पार्टीबाट उम्मेदवार बनेका बासुदेव घिमिरेलाई जिताउन चुनावी अभियानको नेतृत्व गरेका थिए । त्यसबेला अपनाइएको रणनीतिले काँग्रेसका शाहलाई पराजित गर्न निर्णायक भूमिका खेलेको चर्चा अझै गर्न थालिएको छ । यही कारण यस पटक भट्टराईलाई ‘चुनावी कमाण्डरबाट उम्मेदवार’ बनेको नेता भनेर व्याख्या गर्ने गरिएको छ ।
एकातिर शाहको अनुभव, राजनीतिक निरन्तरता र ‘अन्तिम मौका’ भन्ने भावनात्मक अपिल छ भने अर्कोतर्फ भट्टराईको युवाशक्ति, संगठनात्मक क्षमता र परिवर्तनको सन्देशले मतदातालाई दुबिधामा पारेको छ । यही दुबिधाका बिच रुपन्देही–५ को चुनावी माहौल तातेको छ ।
२०११ मा जन्मिएका शाह २०५८ सालमै शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री भएका थिए । २०७५ असोज ५ गते सङ्घीय सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध निर्वाचित, २०७८ मङ्सिरमा भएको नेपाली काँग्रेसको लुम्बिनी प्रदेश सभापतिमा अमर सिंह पुनसँग पराजित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर शाह २०४९ र २०५४ मा जिल्ला विकास समिति रुपन्देहीको सदस्य बनेका थिए ।
खिमलाल भट्टराई एमालेमा युवा र प्रभावशाली नेता मानिन्छन् ।
रुपन्देहीको रामापुरका स्थायी बासिन्दा भट्टराई पछिल्लो १० वर्षदेखि सोही क्षेत्रमा एमालेको जनसंगठन निर्माणमा खटिएका थिए । एमालेभित्र सो क्षेत्र रामनाथ ढकालको क्षेत्रका रूपमा चिनिन्थ्यो । २०७१ सालमा ढकालको निधन भएपछि भट्टराईले सो क्षेत्रलाई आफ्नो आधार क्षेत्रको रूपमा तयार गरेका थिए ।
२०७४ मा लुम्बिनी प्रदेशबाट ६ वर्षका लागि राष्ट्रियसभा सदस्य बनेका भट्टराईलाई एमालेले २०७९ सालमै सो क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको थियो । प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एक वर्ष कार्यकाल बाँकी रहँदै राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए ।
तर त्यति बेला पार्टीले वासुदेव घिमिरेलाई पनि टिकट दिएको थियो । दुवैले टिकट पाएपछि खिमलाल भट्टराईले पछि हटेर घिमिरेलाई सघाएका थिए । २०२७ सालमा जन्मिएका भट्टराईको राजनीतिक यात्रा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियूबाट भएको हो ।
स्कुल पढ्दै गर्दा अनेरास्ववियूमा आबद्ध भएका भट्टराई बुटवल बहुमुखी क्याम्पसमा स्ववियू सभापति हुँदै २०६२ सालमा सम्पन्न अनेरास्ववियूको सत्रौँ महाधिवेशनबाट केन्द्रीय अध्यक्ष चुनिएका थिए ।
एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनमा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका भट्टराई यसअघिको कार्यकालमा पोलिटब्युरो सदस्य थिए । भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमए र बिएल अध्ययन पूरा गरेका छन् ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा काँग्रेस र एमालेबिच सीमित देखिए पनि तेस्रो शक्ति निर्णायक बन्न सक्ने आङ्कलन पनि उत्तिकै बलियो छ । नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व मन्त्री मोहम्मद वकिल मुसलमान उम्मेदवार बनेका छन् । मधेसी समुदायमा राम्रो पकड बनाएका मुसलमानले कति मत तान्छन् भन्ने कुराले मुख्य दुई दलमध्ये कसलाई फाइदा पुग्छ भन्ने निर्धारण गर्ने स्थानीय मतदाताको बुझाइ छ ।
त्यस्तै, जनमत पार्टीबाट पूर्व मन्त्री ओमप्रकाश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नयाँ अनुहार तौफिक अहमद खान उम्मेदवार बनेका छन् । कुल २६ जनाले उम्मेदवारी दिएको यस क्षेत्रमा मत विभाजनको सम्भावना उच्च देखिएको छ । विशेष गरी मुसलमानको मत प्रभाव काँग्रेस वा एमालेमध्ये कसको आधार क्षेत्रबाट बढी काटिन्छ भन्ने कुराले अन्तिम नतिजा फरक पार्न सक्ने बताइन्छ ।
भौगोलिक रूपमा रुपन्देही–५ अन्तर्गत कञ्चन, मायादेवी र गैँडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म र सैनामैना नगरपालिकाका वडा नम्बर ५ देखि ११ सम्म गरी ४० वटा वडा पर्दछन् । यी क्षेत्र सामाजिक, जातीय र राजनीतिक हिसाबले विविध छन्, जसले चुनावी गणितलाई झन् जटिल बनाएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनको परिणामले पनि यो क्षेत्र कसैका लागि सुरक्षित नरहेको संकेत गरेको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धनले १४ वटा वडामा जित हासिल गर्दा एमाले एक्लैले १७ वटा वडा जितेको थियो ।
यही तथ्यांकलाई आधार मानेर राजनीतिक विश्लेषकहरू यस पटक पनि काँग्रेस र एमालेमध्ये एक दलको जित हुने अनुमान गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?