Butwal Today

‘बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्छ’

२४ माघ २०८२, शनिबार
अ+
अ-

बुटवल ।

युग अनुसार बदलिएको काँग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस नेताहरू दाबी गरेका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा रुपन्देही क्षेत्र नं. २ मा वडा प्रचार कार्यालयहरूको उद्घाटनका क्रममा नेताहरूले काँग्रेस मुलुकको मियो पार्टी भएको दाबी गर्दै मुलुकलाई सही दिशा र गति दिनका लागि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरेका हुन् ।

रुपन्देही क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ६ को प्रचार कार्यालय उद्घाटनका क्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य रामबहादुर कार्कीले युग अनुसार बदलिएको काँग्रेसले देशको मुहार पनि बदल्ने दाबी गरे ।

उनले अहिले काँग्रेसले आम नेपालीले आशा र भरोसा गरेका पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारिएको बताउँदै उनको नेतृत्वमा बन्ने सरकारले मुलुकलाई सही दिशा र गति दिने दाबी गरे ।

नेपाली काँग्रेसले रुपन्देही २ मा पार्टीका महासमिति सदस्य, समाजसेवी, उद्योगपति चुन्नप्रसाद शर्मा पौडेललाई उम्मेदवार बनाएको बताउँदै उनको जितले यस क्षेत्रको भौतिक, सामाजिक, आर्थिक तथा औद्योगिक विकासमा नयाँ आयाम ल्याउने विश्वास उनले व्यक्त गरे ।

त्यस अवसरमा उम्मेदवार पौडेलले आगामी निर्वाचन पार्टीको विश्वास, इतिहास र भविष्यको परीक्षा भएको औँल्याउँदै लामो समयपछि नेपाली काँग्रेसको पहिचान रुख चिन्हमा मतदान गर्न पाउनु गौरवको विषय भएको बताए ।

उम्मेदवार पौडेलले नेपाली काँग्रेसमा अनुभवी र दिग्गज नेताका साथै उत्साही युवा तथा विद्यार्थीहरू टोल–टोलमा खटिरहेको पनि बताए । लोकतन्त्र संसारकै सबैभन्दा लोकप्रिय शासन व्यवस्था भए पनि देशमा राजनीतिक अस्थिरता, युवा निराशा र जनविश्वास कमजोर हुँदै जानु चिन्ताको विषय भएको बताउँदै उनले भने–‘हिजोको अवस्थाभन्दा आज हामी कति बदलिएका छौँ, जनताको आशा कति बोकेका छौँ भन्ने प्रश्न आफैँलाई सोध्न आवश्यक छ ।’

उनले अब व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य रोज्नुपर्ने, निराशा होइन आशा छर्नुपर्ने समय आएको उल्लेख गर्दै भोलीको नेपाल युवामैत्री, रोजगारमुखी र सुशासनयुक्त बनाउने नेपाली काँग्रेसको लक्ष्यमा आफू सारथि बन्ने विश्वास दिलाए ।

त्यस्तै पार्टीका क्षेत्रीय सभापति, निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले आम नेपाली जनताले भरोसा गरेको नेपाली काँग्रेसले गर्विलो ईतिहास बोकेको र सुनौलो भविष्यको मार्गचित्र पनि कोरेको बताउँदै आम नेपालीले देखेको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरे ।

बुटवल उपमहानगरपालिका वडा नं. ६ का सभापति ताराप्रसाद ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेताहरूले नेपाली काँग्रेसलाई विश्वास गरेर नेपाली काँग्रेसले अगाडि सारेका उम्मेदवारलाई जिताउन रुख चिन्हमा मतदान गर्न आम मतदातालाई आग्रह गरेका थिए ।

बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिका ६ र सैनामैना नगरपालिकाका ४ गरि २३ वटा वडा समेटिएको क्षेत्र नं. २ मा नेपाली काँग्रेसले १६ वटा वडामा निर्वाचन परिचालन वडा कार्यालय स्थापना गरिसकिएको क्षेत्रीय सचिव, निर्वाचन परिचालन मूल समितिका सदस्य सचिव विमलराज भट्टराईले जानकारी गराए ।

त्यसमध्ये शुक्रबार मात्रै बुटवल उपमहानगरपालिकाका १, ६ र १० तथा तिलोत्तमा नगरपालिकाको वडा नं. ३ मा निर्वाचन परिचालन वडा कार्यालय उद्घाटन गरिएको छ ।