Butwal Today

जापानमा विश्वकै ठुलो आणविक संयन्त्र पुनः सुरु हुने

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

जापानले विश्वको सबैभन्दा ठुलो आणविक ऊर्जा संयन्त्र अर्को हप्ता पुनः सञ्चालनमा ल्याउने भएको छ । सन् २०११ को फुकुसिमा आणविक प्रकोपपछि पहिलो पटक पुनः सुरु गर्ने प्रयास अलार्मसँग सम्बन्धित गडबडीका कारण अस्थायी रूपमा निलम्बन गर्नुपरेको थियो ।

टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) द्वारा सञ्चालित काशीवाजाकी–कारिवा आणविक संयन्त्रका प्रमुख ताकेयुकी इनागाकीले शुक्रबार पत्रकार सम्मेलनमा फेब्रुअरी ९ मा रिएक्टर सुरु गर्ने योजना रहेको जानकारी दिइन् ।

टेप्कोले जनवरी २१ मा रिएक्टर पुनः सञ्चालनमा ल्याएको थियो । तर अनुगमन प्रणालीबाट अलार्म बजेसँगै भोलिपल्ट रिएक्टर बन्द गरिएको थियो ।

इनागाकीका अनुसार कन्फिगरेसनमा भएको त्रुटिका कारण अलार्मले एउटा केबलमा विद्युतीय प्रवाहमा सानो परिवर्तन देखाएको थियो । ती परिवर्तनहरू अझै पनि सुरक्षित दायरा भित्र नै रहेकाले सुरक्षा जोखिम नभएको उनले स्पष्ट पारिन।

रिएक्टर सञ्चालन गर्न सुरक्षित रहेको निष्कर्षपछि कम्पनीले अब अलार्मको सेटिङ परिवर्तन गरेको इनागाकीले बताइन । उनका अनुसार अर्को चरणमा व्यापक निरीक्षण गरिनेछ र मार्च १८ मा वा त्यसपछि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ ।

काशीवाजाकी–कारिवा संयन्त्र सम्भावित उत्पादन क्षमताका आधारमा विश्वकै सबैभन्दा ठुलो आणविक ऊर्जा केन्द्र मानिन्छ । यद्यपि, यसका सात रिएक्टरमध्ये हाल एउटा मात्र रिएक्टर पुनः सुरु गरिँदैछ ।

सन् २०११ मा आएको शक्तिशाली भूकम्प र सुनामीका कारण फुकुसिमा आणविक संयन्त्रका तीन रिएक्टर पग्लिएपछि जापानले अधिकांश आणविक ऊर्जा केन्द्रहरू बन्द गरेको थियो । त्यसयता काशीवाजाकी–कारिवा पनि लामो समयदेखि बन्द अवस्थामा थियो ।

ऊर्जा स्रोतमा सीमितता भएको जापानले जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने र कृत्रिम बौद्धिकता (एआई) को विस्तारसँगै बढ्दो ऊर्जा माग पूरा गर्ने लक्ष्यसहित आणविक ऊर्जालाई पुनर्जीवित गर्न चाहेको छ ।

काशीवाजाकी–कारिवा सन् २०११ पछि टेप्कोद्वारा सञ्चालनमा ल्याइने पहिलो आणविक एकाइ हो । टेप्कोले फुकुसिमा दाइची संयन्त्र पनि सञ्चालन गरेको थियो, जुन हाल चरणबद्ध रूपमा बन्द गर्ने प्रक्रियामा छ ।

संयन्त्र वरपरको क्षेत्रमा जनमत भने गहिरो रूपमा विभाजित देखिन्छ । निगाता प्रान्तले सेप्टेम्बरमा गरेको सर्वेक्षणअनुसार करिब ६० प्रतिशत बासिन्दाले पुनः सञ्चालनको विरोध गरेका छन् भने ३७ प्रतिशतले समर्थन जनाएका छन् ।

जनवरीमा पुनः सुरुको विरोध गर्ने सात समूहले करिब ४० हजारको हस्ताक्षर सङ्कलन गरी टेप्को र जापानको आणविक नियमन प्राधिकरणसमक्ष निवेदन पेस गरेका थिए । उनीहरूले संयन्त्र सक्रिय भूकम्पीय फल्ट जोनमा अवस्थित रहेको र सन् २००७ मा शक्तिशाली भूकम्पको प्रभावमा परेको तथ्य औँल्याउँदै सुरक्षा चिन्ता व्यक्त गरेका थिए ।