Butwal Today

किसानलाई बिमाको दायरामा ल्याउनुपर्ने आवश्यकता

२२ माघ २०८२, बिहीबार
अ+
अ-

सल्यान ।

सल्यानमा किसानहरूलाई बिमाको दायरामा ल्याउनका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बिमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले सिद्धकुमाख, ५ को वडा कार्यलयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको शाखा प्रमुख अनुराग बोहराले जानकारी दिए ।

सो अवसरमा कृषि तथा पशुपन्छी बिमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो । साथै दाबी भुक्तानी प्रक्रियालाई अझ पारदर्शी र सहज बनाउन अबदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने बोहराले जानकारी गराए ।

वडा अध्यक्ष चुडामणि रेउलेले बिमा सचेतनालाई टोल टोलमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए । कृषि तथा पशुपन्छी बिमा कृषकका लागि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले बिमा गरेमा कृषकलाई ठुलो राहत तथा फाइदा पुग्ने बताए । एनएलजी इन्स्योरेन्सले गाउँ गाउँमा पुगेर कृषकलाई बिमाको दायरामा ल्याउने अभियान अन्तर्गत विगत केही वर्षदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र यसले सकारात्मक तथा प्रभावकारी परिणाम देखिन थालेको जनाएको छ । नेपाल सरकारले कृषकलाई प्रदान गर्ने बिमा शुल्कमा ८० प्रतिशत अनुदानको सुविधाको लाभसँगै कृषकलाई बिमाको दायरामा ल्याउन इन्स्योरेन्स लागिपरेको जनाएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी बिमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वका बारेमा विस्तृत जानकारी गराइएको एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरि बहादुर रेउलेले जानकारी दिए ।