© 2026
बाँके, १५ माघ ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ ।
चार प्रमुख उम्मेदवारबिचको प्रतिस्पर्धा दुई राजनीतिक धारमा विभाजित देखिएको छ भने ती दुवै धारलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेक श्रेष्ठले वैकल्पिक शक्तिको रूपमा चुनौती खडा गरिरहेका छन् ।
एकातिर जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेसँग जोडिएको अनुभव, पहुँच र पारिवारिक सम्बन्धको राजनीतिक पाटो छ भने अर्कोतिर नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिचको विगतको सहकार्य र विश्वासको निरन्तरताले अर्को धार निर्माण गरेको छ ।
यी दुवै धारबिच मत विभाजन हुने अवस्था बनेमा रास्वपाले लाभ उठाउने सम्भावना पनि त्यत्तिकै रहेको कतिपय स्थानीय मतदाताहरू बताउँछन् ।
बाँकेको निर्वाचन क्षेत्र नम्बर २ सामाजिक, आर्थिक र सांस्कृतिक विविधताले भरिएको निर्वाचन क्षेत्र हो । मधेस आन्दोलनपछिको राजनीतिक चेतना, सीमावर्ती व्यापार, कृषि–आधारित जीविकोपार्जन, बढ्दो सहरीकरण र युवा मतदाताको सक्रियताले यहाँको चुनावी निर्णयमा बहु आयामिक प्रभाव पार्दै आएको छ ।
थारु, मधेसी र पहाडी समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रमा मतदाताले दलको नाराभन्दा उम्मेदवारको व्यक्तित्व, पहुँच र काम गरेको अनुभूतिलाई प्राथमिकता दिने प्रवृत्ति देखिएको छ । यही कारण विगतका निर्वाचनमा दल परिवर्तन, सहकार्य र अप्रत्याशित समीकरणले नतिजा उल्ट्याउँदै आएको इतिहास छ । पछिल्लो समय रास्वपाको उदयले परम्परागत दलहरूलाई थप दबाबमा पारेको छ ।
रास्वपाका उम्मेदवार विवेक श्रेष्ठले परम्परागत दलहरूमा वितृष्णा फैलिएकाले त्यसको लाभ आफूले उठाउने दाबी गरे । “अहिले मतदाताहरूमा मत फेरौँ भन्ने भावनाको विकास भएको छ, युवा मतदाताले नयाँ दल र उम्मेदवारलाई रोज्न चाहेका छन्, त्यसैले पनि मेरो जित हुनेमा आशावादी छु”–उनले भने ।
जसपा नेपालका उम्मेदवार पूर्व उपप्रमुख कमरुद्दीन राईले उपप्रमुख पदको करिब एक वर्षभन्दा बढी कार्यकाल बाँकी छँदै राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवारी दर्ता गरेपछि चुनावी राजनीतिमा ठूलो चर्चा सुरु भएको छ ।
समर्थकहरू यसलाई सङ्घीय तहमा क्षेत्रका मुद्दा उठाउने दृढ इच्छाको रूपमा लिएका छन् भने आलोचकहरू रणनीतिक चालका रूपमा व्याख्या गर्न थालेका छन् । स्थानीय प्रशासनिक अनुभव, सङ्गठनात्मक पहुँच र चिनिएको छवि उनका बलिया पक्ष हुन् ।
अर्कोतर्फ एमालेका उम्मेदवार मोहम्मद ईस्तियाक राई २०७४ सालमा जसपाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार मन्त्री हुन् । मन्त्रीकालमा गरेका विकास–केन्द्रित काम, सङ्घीय पहुँच र सङ्गठनात्मक शक्ति उनका मुख्य र बलिया आधार मानिन्छन् ।
दल परिवर्तनको निर्णयलाई लिएर आलोचना भए पनि चुनावी मैदानमा अनुभव र स्रोत–साधनले उनलाई बलियो बनाएको देखिन्छ ।
उनी भन्छन्, “म एमालेबाट चुनाव जित्नका लागि उम्मेदवार बनेको हुँ, कसैसँग सम्झौता गर्ने आवश्यकता देखिँदैन ।”
पार्टीको बलियो साङ्गठनिक शक्ति र इमानदार कार्यकर्ता नै चुनाव जित्ने विश्वासिलो आधार रहेको उनको तर्क छ । उनले विगतमा भन्दा परिस्थिति आफू अनुकूल रहेको दाबी गर्दै चुनाव जित्नेमा आफू ढुक्क रहेको बताए । “मतदाताहरूले आशा र उत्साह भरिरहनुभएको छ, यसले पनि मलाई थप आत्मबल प्रदान गरेको छ”–उनले भने ।
कमरुद्दीन र ईस्तियाक राई काका–भतिजा हुन् । यही पारिवारिक नाताले चुनावी राजनीतिमा अनेक अड्कलबाजी जन्माएको छ । सार्वजनिक रूपमा दुवैबिच तीखा आरोप–प्रत्यारोप देखिए पनि पर्दाभित्र सम्भावित सहकार्यको चर्चा पनि चलिरहेको छ ।
यी सबै अनुमान भए पनि मतदाताले यसलाई कसरी बुझ्छन् भन्ने कुराले नतिजामा प्रभाव पार्ने आङ्कलन गर्न थालिएको छ । बाँके–२ मा अर्को स्पष्ट धार नेपाली कांग्रेस र राप्रपाबिचको सहकार्य हो । २०७९ को निर्वाचनमा राप्रपाका नेता धवल शमशेर राणा काँग्रेसको सहयोगमा विजयी भएका थिए ।
त्यसकै निरन्तरताका रूपमा यस पटक राप्रपाले काँग्रेसलाई सहयोग गर्ने अपेक्षा गरिएको छ । कमरुद्धिनले भने आफूले यो क्षेत्रबाट जित निकाल्ने दाबी गरे । “मेरो उम्म्ेदवारीले यहाँका मतदातामा उत्साह छ, यहाँको समस्या मैले धेरै बुझेको छु, नागरिकले आफ्नो समस्या बुझेकोलाई संसदमा पठाउन चाहन्छन्”–उनको तर्क छ ।
काङ्ग्रेसबाट सुधांशु कोइराला उम्मेदवार छन् भने राप्रपाबाट ऋषि राज देवकोटा मैदानमा छन् । काँग्रेसको सङ्गठन, स्थानीय कार्यकर्ता सञ्जाल र सहकार्यको सम्भावना कोइरालाका बलिया आधार हुन् । तर विगतमा काँग्रेसले यस क्षेत्रमा अपेक्षित नतिजा नल्याएको आलोचना पनि कायमै छ ।
सुधांशुले काँग्रेस एक्लै चुनाव जित्ने रणनीतिका साथ मैदानमा उत्रिएको र स्थानीय मुद्दालाई प्राथमिकता दिएको बताए । “हामीले स्थानीय नागरिकका मुद्दा र यहाँको समस्यालाई उठाएका छौँ, मतदाताले हामीले उठाएका एजेन्डा बुझेका छन्”–उनले भने ।
कोइरालाले काँग्रेस मुलुकको प्रमुख शक्ति भएका हिसाबले पनि बाँकेका जनताले आफूलाई विश्वास गरेर मतदान गर्ने बताए । राप्रपाका उम्मेदवार देवकोटाले सीमित तर समर्पित मताधार र अनुशासित सङ्गठनको भरोसा गरेका छन् । काँग्रेससँगको सहकार्य कति प्रभावकारी हुन्छ भन्ने कुरा भने अन्तिम समयमा मत हस्तान्तरणले देखाउनेछ ।
चार प्रमुख उम्मेदवार र दुई धारबिच प्रतिस्पर्धा भइरहँदा रास्वपाका विवेक श्रेष्ठ युवामाझ बढ्दो आकर्षणका साथ वैकल्पिक शक्तिको रूपमा देखिएका छन् । यदि स्थापित दलहरूबिच मत अत्यधिक विभाजित भयो भने रास्वपाले अप्रत्याशित नतिजा निकाल्न सक्ने आङ्कलन पनि गरिएको छ ।