© 2026
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी २५ दिनपछि खोलिएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिले लगाएको ताला आज विश्वविद्यालय प्रशासन र प्रहरीको सहयोगमा खोलिएको हो । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा लागेको ताला आफैले खोलेको जानकारी दिएका छन् ।
उपकुलपति अर्यालले भने, ‘ताला खोल्न आज बिहान ८ बजेसम्म अल्टिमेटम दिएका थियौँ । उहाँहरूले ताला नखोलेपछि हामीले आफैं कार्यकक्षको ताला खोल्नुपर्यो ।’
क्रान्तिकारीले मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका चार केन्द्रीय विभाग—अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य, र द्वन्द्व, शान्ति तथा विकास अध्ययन—ले लिँदै आएको शुल्क घटाउन माग राखेर तालाबन्दी गरेको थियो ।
उपकुलपति अर्यालले विद्यार्थीको माग सम्बोधन हुने बताए । उनले भने, ‘विद्यार्थीको माग सम्बोधन गर्न तीन सदस्यीय शुल्क समायोजन समिति गठन गरिएको छ । समितिले तीन महिनाको समय पाएको छ ।
समितिको सिफारिस बमोजिम शुल्क समायोजन हुनेछ । आजै शुल्क घटाउन सकिँदैन, केही समय लाग्छ, विद्यार्थी संगठनले बुझ्नुपर्छ ।’
उपकुलपतिले अन्य संकायको शुल्कसमेत समायोजनको प्रक्रिया अन्तर्गत रहेको बताए । सम्बन्धन प्राप्त कलेजले लिने शुल्क फरक–फरक भएको भन्दै समिति सबै कलेजको शुल्क अनुगमन गर्नेछ ।
तालाबन्दीका कारण प्रशासनिक काम प्रभावित भएको भन्दै सोमबार रजिस्ट्रार कार्यालयले ताला खोल्न अल्टिमेटम दिएको थियो । अखिल क्रान्तिकारीले गत पुस १९ गते ताला लगाएको थियो ।