© 2026
काठमाडौँ ।
मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा भएको सशस्त्र आक्रमणमा ११ जनाको ज्यान गएको छ ।
आइतबार सलामान्का सहर नजिकै रहेको उक्त मैदानमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले यो जानकारी दिएको हो ।
सलामान्का सहरको मेयर कार्यालयका अनुसार आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा निकायले विशेष अपरेसन सुरु गरेका छन् ।
ग्वानाजुआतो राज्य औद्योगिक रूपमा समृद्ध क्षेत्र तथा लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आए पनि पछिल्लो समय बढ्दो सामूहिक हिंसाका कारण मेक्सिकोको सबैभन्दा घातक राज्य बनेको समाचारमा उल्लेख छ ।
यसैबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा देशको हत्या दर पछिल्लो एक दशककै सबैभन्दा न्यून स्तरमा झरेको बताउनुभएको थियो । तर, हत्या दर अझै पनि अन्य देशको तुलनामा उच्च नै रहेको छ ।