Butwal Today

एक महिनाको अन्तरालमा पण्डितपुरमा पुनः उत्खनन

१२ माघ २०८२, सोमबार
अ+
अ-

सुनवल ।
पश्चिम नवलपरासीको रामग्राम–१८ मा रहेको ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरको उत्खननको क्रममा जमिनमुनि महत्त्वपूर्ण प्राचीन संरचना भेटिएपछि पुनः उत्खनन गरिएको छ ।

गत मङ्सिर महिनामा एक महिना सम्म भएको उत्खननको क्रममा प्राचीन विहारको भौतिक संरचना भेटिएको छ ।
यसअघि जियो फिजिक्स सर्भे भूभौतिक सर्वेक्षणले औँल्याएको क्षेत्र भन्दा बाहिरी भूभागमा समेत इँटाका पर्खाल र इनारको संरचना भेटिए पनि सो क्षेत्र महत्त्वपूर्ण भएको निष्कर्ष सहित रामग्राम नगरपालिकासँगको समन्वयमा पुरातत्त्व विभागले पुनः २५ दिन देखि उत्खनन गरिरहेको छ ।

पछिल्लो उत्खननको क्रममा जमिनमुनि भेटिएको इँटाको संरचना थप क्षेत्रमा फैलिएको पाइएको छ भने प्राचीन सभ्यता र ऐतिहासिक महत्त्वबारे थप अध्ययन गर्न सहयोगी हुने धार्मिक कुण्ड फेला परेको छ ।

इँटाले तहगत रूपमा बनाइएको उक्त संरचनाको विषयमा थप अध्ययनले धेरै कुराको यकिन गर्न सहयोग पुग्ने पुरातत्त्व विभागका पुरातत्त्वविद् भास्कर ज्ञवालीले बताए ।

उक्त स्थलको संरक्षणका लागि जग्गाको क्षेत्रफल यकिन गर्न नाप जाँच भइरहेको छ । रामग्राम नगरपालिका, मालपोत र नापी कार्यालय परासीले संयुक्तमा क्षेत्रफल यकिन गर्न नाप जाँच गरिरहेका छन् ।

रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले पण्डितपुरलाई सङ्घीय सरकारबाट संरक्षित क्षेत्र घोषणा गरेर थप अध्ययनका काम अगाडि बढाउन जग्गा यकिन गर्न लागिएको बताए ।

पछिल्लो पटक भएका उत्खननको क्रममा भेटिएका प्राचीन सामग्री र जमिनमुनिको संरचनाको आधारमा बुद्धको मावली र कोलीय गणराज्यको राजधानी पण्डितपुर भएको उनको भनाइ छ ।

पण्डितपुरमा कृषाण कालीन समयका तामाका सिक्का र अन्य पुरातात्त्विक सामग्री जमिनमुनि फेला परेको छ । सो क्षेत्रमा खेतीपाती र बसोबास हुँदै आएकाले प्राचीन महत्त्व बोकेका संरचनामा क्षति पुग्न सक्ने भएकाले निर्माण कार्य पनि रोक्नुपर्नेमा पुरातत्त्व विभागले जोड दिएको छ ।

पण्डितपुरमा पछिल्लो उत्खननका क्रममा भेटिएको संरचनाको संरक्षणका लागि नगरपालिकाले जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले बताए ।

पण्डितपुरमा यसअघि भएका जियो फिजिक्स सर्भे र उत्खननका क्रममा चक्र आकारमा व्यवस्थित प्राचीन सहरको संरचना जमिनमुनि फेला परेको छ । ती संरचनाको उत्खनन गरि बेलायतमा पठाएर गरिएको नमुना परीक्षणको क्रममा इशापूर्व छैटौँ शताब्दीको भएको पुष्टि भइसकेको छ ।