© 2026
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को विकट क्षेत्र ज्यामिरे गाउँकी १७ वर्षीया रोशनी गाहाले कक्षा १० पढ्दापढ्दै विद्यालय आउन छोडिन् ।
तामनगरस्थित सरस्वती माध्यमिक विद्यालय पुग्न करिब ६ किलोमिटर लामो जङ्गलको बाटो र दैनिक झन्डै दुई घण्टाको पैदल यात्राका कारण उनले विद्यालय नजाने निर्णय गरिन् ।
उनी भन्छिन्– “गाडी छैन, पैदल जान गाह्रो छ । कहिलेकाहीँ जङ्गली जनावर पनि भेटिन्छन्, डर लाग्छ । यस्तो दुःख गरेर पनि के पढ्नु भनेर स्कुल जानै छोडिदिएँ । तर यसपालि एसइई परीक्षा दिने मन छ ।” एसइई परीक्षाको फाराम भरेको र सम्भव भएसम्म परीक्षा दिन जाने उनले बताइन् ।
सोही गाउँका अर्का विद्यार्थी, कक्षा ८ मा अध्ययनरत खेमबहादुर गाहा कहिलेकाहीँ मात्र विद्यालय आउँछन् । लामो र घना जङ्गलबिचको कठिन यात्राका कारण उनी नियमित विद्यालय आउन सक्दैनन् ।
सरस्वती माध्यमिक विद्यालयमा भर्ना भएका उनलाई खुट्टा दुख्ने समस्या पनि छ । पछिल्लो समय परीक्षा नजिक आएकाले तामनगर नजिकै आफन्तकहाँ बसेर पढिरहेको उनी बताउँछन् ।
उनी भन्छन्— “पढ्न त मन छ, तर सहरमा बसेर पढ्न पैसा छैन । गाउँमा बसेर पढाइ छैन ।” ज्यामिरे गाउँका विद्यार्थीहरूको मुख्य समस्या आर्थिक अभाव पनि हो । विकट गाउँका केही विद्यार्थी विद्यालयमा भर्ना भए पनि नियमित आउन सक्दैनन् ।
सहरमा बसेर पढ्न आर्थिक अभाव छ, गाउँमा बसेर पढ्न विद्यालय टाढा छ । यस्तै, कक्षा १० मा अध्ययनरत १६ वर्षीया लीला गाहा र कक्षा १ मा पढ्ने उनकी ६ वर्षीया बहिनी अहिले तामनगरमै डेरा लिएर बसेका छन् ।
सुनसान ठाउँ, घना जंगल, लामो बाटो र असुरक्षित यात्राका कारण गाउँबाट विद्यालय आउन–जान गाह्रो भएकाले डेरा लिएर बसेको लीला बताउँछिन् ।
कक्षा १ मा अध्ययनरत अर्की विद्यार्थी रोजिना चिदी पनि अभिभावकसँग विद्यालय नजिकै डेरा लिएर बसेकी छिन् भन्ने जानकारी विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद न्यौपानेले दिए ।
प्रधानाध्यापक न्यौपाने भन्छन्— “निम्न वर्गीय परिवार भएकाले सहरमा बस्न आर्थिक अभाव छ, गाउँमा बसेर पढ्न विद्यालय टाढा छ ।” उनका अनुसार तैपनि विद्यार्थीहरूको अध्ययन राम्रो होस् भनेर विद्यालयले निरन्तर प्रयास गरिरहेको छ ।
कक्षा १२ सम्म अध्यापन हुने सरस्वती माध्यमिक विद्यालयमा हाल जम्मा २ सय ३८ विद्यार्थी छन् । १७ जना शिक्षक तथा कर्मचारी रहेको उक्त विद्यालयमा कक्षा ११ मा भने एक जना पनि विद्यार्थी छैनन् । अधिकांश निम्न वर्गीय परिवारका विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा कक्षा १० मा ३१ जना विद्यार्थी छन् ।
उता, नेपालकै उत्कृष्ट विद्यालयमध्ये मानिने बुटवलका कालिका मानव ज्ञान माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, तिनाउ पश्चिम नयाँ गाउँ माध्यमिक विद्यालय, नवरत्न माध्यमिक विद्यालय लगायतका विद्यालयमा भने विद्यार्थीको चाप अत्यधिक छ ।
बुटवल–१० स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा ८ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । नेपालका झन्डै ४० जिल्लाका विद्यार्थी यहाँ अध्ययन गरिरहेको उनको भनाइ छ ।
कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार उक्त विद्यालयमा झन्डै ६ हजार विद्यार्थी अध्ययनरत छन् ।
उनी भन्छन्— “अहिले पनि ३५ भन्दा बढी जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्छन् । छात्रावासको सुविधा भएकाले विद्यार्थीको चाप उच्च छ ।”
पछिल्लो समय बुटवल–१२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालयले भौतिक विकाससँगै शैक्षिक गुणस्तरमा पनि सुधार गरेको वडाध्यक्ष डिल्लीप्रसाद शर्माले बताए । बुटवल–१५ सेमलारस्थित नवरत्न माध्यमिक विद्यालयले प्राविधिक शिक्षासँगै शैक्षिक उन्नयनमा अग्रता हासिल गरिरहेको छ ।
वडाध्यक्ष शर्मा भन्छन्— “दुर्गम गाउँ, कठिन र सङ्घर्षपूर्ण बाटो पार गर्दै अध्ययनको सानो आशा बोकेर ज्यामिरेका बालबालिका बिहान ५ बजे उठ्छन् । घरबाट विद्यालय पुग्न करिब ६ किलोमिटर पैदल हिँड्नुपर्छ । वर्षा याम र जाडोमा कतिपय दिन विद्यालय पुग्न सक्दैनन् ।”
कतिपय समय बिदाका दिन शिक्षक–शिक्षिकाहरू ज्यामिरे गाउँमै पुगेर विद्यार्थीलाई पढाइ र सिकाइमा सहयोग गर्दै आएका छन् । सवारी साधनको अभाव अर्को प्रमुख समस्या रहेको स्थानीयहरू बताउँछन् ।
यसैबिच, विसं २००८ सालमा स्थापना भएको रुपन्देहीकै पुरानो विद्यालय बुटवल माध्यमिक विद्यालयको अवस्था भने चिन्ताजनक रहेको स्थानीयहरू बताउँछन् । विगतमा ख्याति कमाएको यो विद्यालयमा हाल विद्यार्थी सङ्ख्या न्यून छ ।
प्रधानाध्यापक होमबहादुर रायमाझीका अनुसार गुणस्तर सुधार र विद्यार्थी आकर्षण बढाउन निरन्तर प्रयास भइरहेको छ । बुटवल–२ स्थित उजिरसिंह माध्यमिक विद्यालय, बुटवल–१३ को नहरपुर माध्यमिक विद्यालयलगायत साबिक सेमलार र मोतिपुर क्षेत्रका विद्यालयहरूले पनि समयानुकूल शिक्षा प्रवाहमा जोड दिइरहेका छन् ।
बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले हाल “सिङ्गो बुटवल एक विद्यालय” कार्यक्रम कार्यान्वयनमा नरहेको बताए । आर्थिक वर्ष २०७६/७७ मा ४० लाख रुपैयाँ विनियोजन गरी कार्यान्वयनमा लगिएको जानकारी दिँदै यसलाई परिमार्जन गरेर लैजाने उद्देश्यका साथ हाल छलफलमै रहेको जानकारी गराए ।
चालु आर्थिक वर्षमा शिक्षाका लागि १० करोड बजेट विनियोजन गरेको छ । उपमहानगरले आर्थिक वर्ष २०७७/७८ देखि नै शिक्षा कार्यनीतिमा सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउने नीति बनाएको छ ।
बुटवल उपमहानगरपालिकाभित्र कुल १ सय ५ विद्यालय छन् । तीमध्ये ३८ सामुदायिक विद्यालय छन् । आधारभूत १२, माध्यमिक २२, विशेष १ र मदरसा ३ वटा छन् भने निजी तथा संस्थागत विद्यालय ५७ वटा छन् ।
उपमहानगर प्रमुख खेलराज पाण्डेका अनुसार सबै विद्यालयलाई समान रूपमा गुणस्तरीय बनाउने लक्ष्यसहित आधारभूत तहका विद्यालयमा लगानी र निगरानी बढाइएको छ ।
केही वर्षअघि उपमहानगरपालिकाले ‘सिङ्गो बुटवल ः एक विद्यालय’ अवधारणा अघि सारेको थियो । तर कार्यान्वयनमा विभिन्न समस्या आएको बताइन्छ । यसरी हेर्दा देशकै नमुना मानिएको बुटवलको शिक्षा क्षेत्र कतै निस्पट्ट अँध्यारो त कतै चम्किलो उज्यालो अवस्थामा देखिन्छ ।
शिक्षाको हब बन्दै गरेको बुटवलभित्रका अँध्यारा पाटाहरूमा उज्यालो छर्न सरकारको ध्यान जानु जरुरी देखिन्छ ।