Butwal Today

प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर

प्रमुख दल काँग्रेस, एमाले र नेकपाले एक–एक जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई उम्मेदवार बनाएको छैन । 
१० माघ २०८२, शनिबार
अ+
अ-

बुटवल/घोराही । लुम्बिनी प्रदेशमा १६ लाख ७१ हजार ४ सय ७९ जना महिला मतदाता छन् । ३३ लाख ८६ हजार ६ सय ८० मतदाता मध्ये १७ लाख १५ हजार १ सय ६३ पुरुष छन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा ५ सय ९९ जनाले उम्मेदवारी दिएका थिए । ५ सय ९९ जनामध्ये ५६ जना महिलाले उम्मेदवारी दर्ता गराएका थिए ।

प्रमुख दल काँग्रेस, एमाले र नेकपाले एक–एक जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई उम्मेदवार बनाएको छैन । यस क्षेत्रमा कुल ३ सय ९४ जना विभिन्न राजनीतिक दलका र २ सय ५ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गर्ने ५६ जनाको निर्वाचन क्षेत्र, उम्मेदवारी दिएको दल र विगतको मतको भार हेर्दा दुईतिहाई भन्दा बढी महिला उम्मेदवारले चुनाव जित्दैनन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा महिला उम्मेदवारहरूको सङ्ख्या र अवस्था हेर्दा लैङ्गिक समानता, समावेशिता र सहभागितामूलक लोकतन्त्रको धज्जी उडाइएको छ । औपचारिक कार्यक्रम र नारामा महिला सहभागिताका चर्का कुरा गर्ने मुख्य दलहरूले यस पटक पनि अवसर दिएनन् ।

एमालेभित्र विद्रोही नेतृका रूपमा चर्चित बिन्दा पाण्डे महिलालाई उम्मेदवार बनाउन दलहरूको नेतृत्वमा रहेको मानसिकतामै समस्या रहेको बताउँछिन् । उनी भन्छिन्–“दलका नेतृत्व तहमा पुगेका व्यक्तिहरू सजिलोसँग महिलालाई अघि बढ्न दिँदैनन्, यदि अघि बढाए भने उनीहरूले जे भन्यो त्यही गरे मात्रै त्यहाँ टिक्न सकिन्छ ।”

पाण्डेले भनेजस्तै महिला उम्मेदवारहरूको सङ्ख्या कमजोर छ । लुम्बिनी प्रदेशमा प्रमुख दलहरू काँग्रेस, एमाले, रास्वपा र नेकपाकै उम्मेदवारको सूचीमा महिलाको नाम सजिलै भेटिन्न । महिलालाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रूपन्देही–२ मा उम्मेदवारी दिएकी कर्भिका थापाले अमेरिकी पिआर त्यागेको ३ महिना पूरा नभएको भन्दै उम्मेदवारी फिर्ता लिइन् ।

उम्मेदवारी दिएपछि उनले भनेकी थिइन्–“महिला सक्षम छन् भन्ने प्रमाण अब राजनीति मार्फत देखाउन चाहन्छु ।” राजनीतिमार्फत महिला शक्तिलाई व्यक्त गर्ने साहस बोकेर रूपन्देही–२ बाट नेपाल मजदुर किसान पार्टीकी शोशिना ब्यान्ज, मंगोल अर्गनाइजेशनकी चन्द्रकुमारी थापा चुनावी मैदानमा उत्रिएका छन् ।

रूपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गरेकी चन्दा थापा महिलाको हक अधिकार र पारदर्शी शासनका एजेन्डा लिएर मैदानमा उत्रिएकी छन् । “योजना र इच्छाशक्ति छ, मतदाताले साथ दिनुहुन्छ भन्ने विश्वास छ,”–उनी भन्छिन् ।

अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी दिएकी पम्फा श्रेष्ठ महिला नेतृत्व आफैँले बाटो बनाउनुपर्ने अवस्थामा पुगेको बताउँछिन् ।  लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय दाङ क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनमोर्चाकी ६३ वर्षीया कमला जिसीले किसान, मजदुर, महिला तथा शिक्षा–स्वास्थ्यका मुद्दालाई प्राथमिकता दिन आफ्नो उम्मेदवारी रहेको बताउँछिन् ।

“महिला नेतृत्वलाई व्यवहारमै स्थापित गर्न उम्मेदवारी दिएकी हुँ”–उनको भनाइ छ ।  पार्टीले टिकट नदिएपछि एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएकी भगवती शाह पार्टीले अवसर नदिएका कारण स्वतन्त्र उठ्नुपर्ने बताउँछिन् ।

राजनीतिक विश्लेषकहरू महिलाको ५० प्रतिशत अधिकारको बहस चुनावी नारामा मात्र सीमित रहेको बताउँछन् । अधिकारकर्मी सुमित्रा शर्मा संरचनागत सोंचका कारणले पनि महिला राजनीतिमा पछाडि परेको बताउँछिन् । “पुरानो सोंच पनि अर्को कारण हो ।

महिलाहरूलाई खुल्ला राजनीतिमा आएर प्रतिष्पर्धा गर्न समस्या हुन्छ, पुरुषहरूले अझै पनि महिलाहरूले सफलतापूर्वक काम गर्ने सक्छन् भन्ने कुरामा विश्वास गर्न सकेका छैनन्”–उनी भन्छिन् ।  अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सदस्य सवित्रा घिमिरे चुनावी मैदानमा धेरै महिलाहरूले रुचि नदेखाएको तर्क गर्छिन् ।

उनले भनिन्–“अरू समयमा जस्तो प्रत्यक्षमा चुनाव लड्ने चाहना नगरेका कारणले पनि हुनसक्छ महिलाको सङ्ख्या कम देखिएको, अर्को कुरा हाम्रा दलहरूले कहिले पनि सहज स्थानमा महिलालाई चुनावमा पठाएको अवस्था छैन । जहाँ चुनाव जित्न कठिन हुन्छ, त्यहाँ महिलालाई अधि सारेका धेरै उदाहरण छन् ।”

नेपाली कम्युनिस्ट पाटी लुम्बिनी प्रदेश सदस्य दिपा विकले ठुला दलहरूले अहिले पनि महिला उम्मेवारलाई विश्वास गर्न नसकेको बताइन् । “महिलाले चुनाव जित्न सक्दैनन् भन्ने भ्रम छ । त्योसँगै महिला नेतृहरूलाई आर्थिक र सामाजिक रूपमा बलियो स्थान बनाउन जरुरी छ”–उनी भन्छिन् ।

नेपाली काँग्रेस महासमिति सदस्य जमुना ढकालले ठुला दलको सामन्तवादी सोचका कारणले निर्वाचनमा महिलाहरूको सहभागिता कम भएको बताइन् । उनले महिलाले चुनाव जित्न सक्छन् भन्ने सोंच नै नरहेको बताइन् ।

कहाँबाट कसको उम्मेदवारी ? 

लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनयन दर्ता गराएका छन् । प्रदेशका १२ जिल्लामा ५ सय ९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा ५६ जना महिला हुन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार सबैभन्दा धेरै रूपन्देहीमा २१ जना महिलाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये एकजनाको उम्मेदवारी खारेज भएको छ भने एकजनाले फिर्ता लिएकी छन् ।

रूपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट जनमत पार्टीकी निलुकुमारी चौधरी र स्वतन्त्रबाट गीता सापकोटा उम्मेदवार छन् । रूपन्देही २ बाट नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यान्जु, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्रकुमारी गुरुङ, सार्वभौम नागरिक पार्टीबाट कमलादेवी गुरुङ, स्वतन्त्रबाट विमला भट्टराई, कमला बोहरा, सीता कुँवर, कमला शाह, सुशीला पुलामी, उमा भट्टराई र सीता साहीको उम्मेदवारी कायम भएको छ ।

रूपन्देही–३ बाट नन्दकुमारी थापा र अन्जना थापाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।  रूपन्देही–४ बाट मजदुर किसान पार्टीबाट कमल कोजु, आम जनता समाजवादी पार्टीबाट ज्योति थापा र स्वतन्त्र शशिकला पाण्डेको उम्मेदवारी परेको छ ।

रूपन्देही–५ बाट राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्दा थापा, नेशनल पब्लिक नेपाल पार्टीबाट केशु राजकोटी मगर र स्वतन्त्रबाट बसन्ती चमारको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

गुल्मी–१ बाट नेपाल मजदुर किसान पार्टीबाट मैयालक्ष्मी त्यात, आम जनता पार्टीबाट सिखा रेश्मी, स्वतन्त्रबाट मालता घिमिरे, हरिकुमारी श्रीसमगर र सरस्वती लम्सालको उम्मेदवारी परेको छ ।

पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाबाट नरमती सिजालीको उम्मेदवारी परेको छ भने पाल्पा–२ बाट नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्वको उम्मेदवारी परेको छ । त्यसैगरी अर्घाखाँचीमा पम्फा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय जनमुक्ति पार्टीबाट नुमा बिक र स्वतन्त्रबाट सकिना मुस्लिमको उम्मेदवारी परेको छ । कपिलवस्तु–२ बाट राष्ट्रिय जनमोर्चाबाट लक्ष्मीकुमारी भण्डारी र राष्ट्रिय जनमुक्ति पार्टीबाट जामबन्नी भुजको उम्मेदवारी परेको छ ।

रुकुम पूर्वबाट नेपाली काङ्ग्रेसबाट कुसुमदेवी थापा र मंगोल नेशनल अर्गनाइजेशनबाट ज्योति रोका मगरको उम्मेदवारी दर्ता भएको छ । थापा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भिड्दै छिन् ।

प्युठानबाट नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट सीता बिकको उम्मेदवारी परेको छ । दाङ क्षेत्र नम्बर २ मा स्वतन्त्रबाट विष्णुकुमारी भुसाल र कल्पना लामाको उम्मेदवारी परेको छ ।  दाङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनमोर्चा पार्टीका कमला जिसी, जनता समाजबादी पार्टीका शोभा डाँगी, आम जनता पार्टीबाट पाण्डवी नेपालीको उम्मेदवारी परेको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ मा मजदुर किसान पार्टीको सुर्जा थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसीको उम्मेदवारीको परेको छ ।
त्यसैगरी बाँके–३ मा नेपाल मजदुर किसान पार्टीबाट भूमि महतरा, आम जनता पार्टीबाट विद्या शर्मा र स्वतन्त्रबाट भगवती शाहको उम्मेदवारी परेको छ ।

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, जनमत पार्टीबाट ज्योति योन्जन र नेपाल जनमुक्ति पार्टीबाट चन्द्राकुमारी राजगुरुङको उम्मेदवारी परेको छ ।

बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विमला बिक र नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट नीता शर्माको उम्मेदवारी परेको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ बाट आम जनता पार्टीका माया कुमारी थापा, नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धु जलेसा बुढाथोकी र स्वतन्त्रबाट गंगादेवी थारु महतोको उम्मेदवारी परेको छ ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमबाट राष्ट्रिय जनमोर्चाबाट पार्वता पौडेल, नेपाल मजदुर किसान पार्टीबाट रञ्जना सुवालले उम्मेदवारी दर्ता गराएकी छिन् । उम्मेदवारी दिनेमा सबैभन्दा धेरै नेपाल मजदुर किसान पार्टीका छन् ।

लुम्बिनी प्रदेशका १३ निर्वाचन क्षेत्रमा आठ जना महिला र ६ जना पुरुषले उम्मेदवारी दिएको लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले जानकारी दिए । उनले महिलालाई प्राथमिकता दिदै उम्मेदवार बनाएको बताए ।

विगतमा पनि उस्तै थियो अवस्था

२०७९ सालको प्रतिनिधिसभा चुनावबाट कुल २७५ मध्ये ९२ सांसद महिला चुनिए । त्यसबेला (२०८० सालमा) राष्ट्रियसभाका कुल ५९ सदस्यमध्ये २२ महिला थिए । यो सङ्घीय संसद्को कुल ३३४ सांसद सङ्ख्याको एक तिहाइ हो ।

सङ्घीय संसदमा एक तिहाइ महिला सांसद हुने संवैधानिक प्रावधान भएकाले पनि त्यति पु¥याउनैपर्ने कानुनी बाध्यता दलहरूलाई छ । तर दलहरूले जेनतेन एक तिहाइको आँकडा पु¥याए पनि त्योभन्दा माथि महिलाको प्रतिनिधित्व गराउन खोजेको देखिँदैन ।

त्यसअघि २०७४ सालको चुनावबाट आएको प्रतिनिधिसभामा ९० र राष्ट्रियसभामा २२ जना महिला सांसद (कुल ११२) निर्वाचित थिए । त्यसअघिको संविधानसभामा कुल सांसद सङ्ख्या ६०१ थियो । जसमा पहिलो संविधानसभामा १९७ (३३ प्रतिशत) र दोस्रो संविधानसभामा १७६ महिला सांसद (२९ प्रतिशत) निर्वाचित थिए ।

राजनीतिमा महिलाको प्रतिनिधित्वका सवालमा सुदूर विगत त अझ दयनीय छ । २०१५–२०१७ सालको १०९ सदस्यीय प्रतिनिधिसभा र ३६ सदस्यीय महासभा दुवैमा एक-एक जना मात्र महिला सांसद थिए । सोहीबेला नेपाली काङ्ग्रेसबाट प्रतिनिधिसभा सदस्य भएकी द्वारिकादेवी ठकुरानी मन्त्री पनि भइन् ।

उनी नै नेपालको पहिलो महिला सांसद र महिला मन्त्री हुन् । त्यसपछि २०१६ असार १६ गते तत्कालीन राजाले कमल राणालाई महासभा (माथिल्लो सभा) सदस्यमा मनोनित गरेका थिए ।