© 2026
कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका वडा नम्बर ६ भलवारीलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ ।
महाराजगन्ज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित भलवारी स्वास्थ्य चौकीमा महाराजगन्ज नगरपालिकाको नगरपालिका स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर प्रमुख अब्दुल कलाम खाँले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष रामसिंह कुर्मी र स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षण बेगपाल कुर्मीलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भनेको घरमा हुने सुत्केरी अन्त्य गरी सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सेवा लिएको सुनिश्चित कम्तीमा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा भएको, गर्भ जाँच दर ९० प्रतिशत पुगेको र घरमा हुने प्रसूति शून्य हुनुपर्ने सुनिश्चित भए सँगै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० का आधारमा वडालाई घोषणा गरिएको हो ।
एक वर्षको अवधिमा घरधुरी सर्वेक्षणका क्रममा १ सय ३५ महिला स्वास्थ्य संस्थामा सुत्केरी भएको जसमा १ सय २५ जनाले नियमित चार पटक गर्भ जाँच गराएको तथा घरमा हुने प्रसूति शून्य रहेको भलवारी स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षण बेगपाल कुर्मीले जानकारी दिए ।
१ सय ३५ जनाले नै प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाच गराएका छन् ।
प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको मापदण्ड २०८० ले तोकेका दुई सूचक पुरा भए सँगै वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्न सकिएको उनले बताए । सो वडामा एक स्वास्थ्य चौकी र एउटा वर्थिगं सेन्टर सँगै पाँच वटा खोप केन्द्र र तिन वटा गाउँघर क्लिनिक मार्फत सेवा दिँदै आइएको छ ।
महाराजगन्ज नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख राधेश्याम जयसवालले सर्वेक्षणका क्रममा तोकिएको मापदण्ड पुरा गरेकाले आवश्यक प्रक्रिया पुरा गरि घोषणा कार्य गरिएको जनाए ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष तथा भलवारी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रामसिंह कुर्मी स्वास्थ्यकर्मी, स्वयंसेविका र व्यवस्थापन समितिको सहकार्यले वडा घोषणामा सफलता मिलेको बताए । स्वास्थ्य चौकीमा अझै पनि आवश्यक पूर्वाधार सँगै प्रयोगशाला र एम्बुलेन्सको आवश्यकता रहेको बताए ।
सबैको सहकार्यमा वडालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा कार्यक्रम सम्पन्न भएको नगर प्रमुख अब्दुल कलाम खाँले बताए । नगरपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिचाई र सामाजिक विकासमा क्षेत्रमा दिगो र दीर्घकालीन कार्यलाई प्राथमिकता दिएको स्पष्ट पारे ।
घोषणा सँगै चुनौती तथा अवसरहरू थपिएको प्रस्ट्याउँदै उनले स्वास्थ्य चौकीको लागी आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिँदै दक्ष जनशक्ति व्यवस्थापनलाई नगरले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक हंसराज दौलियत, सिनियर अनमी पदम कुमारी राना लगायतले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा सँगै स्वास्थ्य सेवा प्रवाह प्रति थप जिम्मेवारी र सहकार्य बढेको बताए ।