Butwal Today

केसीले लिएनन् उम्मेदवारी फिर्ता

९ माघ २०८२, शुक्रबार
अ+
अ-

 बुटवल ।

दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो उम्मेदवारी कायमै राखेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ–१ बाट कसैले पनि उम्मेदवारी फिर्ता लिएको छैन ।

दाङ–१ मा देखिएको विवाद मिलाउनका लागि नेकपाका नेता वर्षमान पुन दाङ पुगेका थिए । दाङ पुगेर नेता पुनले केसीसँग छलफल गरे पनि, केसीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेकाले उम्मेदवारी कायम रहेको हो ।

केसीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर स्वतन्त्र रूपमा मनोनयनपत्र दर्ता गराएका थिए ।

पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि केसी असन्तुष्ट बनेका थिए । त्यही असन्तोषमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा योगदान दिन चाहेको बताए ।

चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए । केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७९ मा टिकट पाएका थिएनन् ।