© 2026
बुटवल ।
रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् ।
अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन् ।
थापा राप्रपाका नेता तथा पूर्व कानुनमन्त्री निरञ्जन थापाकी छोरी हुन् । उनी लामो समयदेखि अमेरिका जाने–आउने गर्दै आएकी थिइन् र केही दिनभित्रै पुनः अमेरिका जाने तयारीमा रहेको बताइएको छ ।
थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएकी छन् । विज्ञप्तिमा उनले विगत १४ वर्ष विदेशमा शिक्षा अध्ययन तथा सीप आर्जन गरेको र त्यसपछि आठ वर्षदेखि नेपालमै फर्किएर प्राप्त सीप प्रयोग गर्दै काम गर्ने अवसर पाएको उल्लेख गरेकी छन् ।
युवाहरू विदेश जान बाध्य नहून् र स्वदेशमै बसेर देश सेवा गर्न सकिन्छ भन्ने सोच र योजनासहित आफू उम्मेदवार बनेको उनको भनाइ छ ।
उनले अध्ययनका क्रममा लिएको स्थायी आवास अनुमति पत्र (ग्रीन कार्ड) उम्मेदवारी दर्ता गरेपछि परित्याग गरे पनि हुने भन्ने बुझाइ रहेको उल्लेख गरेकी छन् ।
हालसम्म आफूले कुनै पनि अन्य देशको नागरिकता वा राहदानी नलिएको र नेपाली राहदानी मात्र रहेको पनि उनले स्पष्ट पारेकी छन् ।
तर पछि नेपालको संविधानको धारा २९१ अनुसार स्थायी आवास अनुमति पत्र परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको जानकारी पाएको बताएकी छन् ।
संविधानको सम्मान र पालना गर्नु सबैको कर्तव्य भएको निष्कर्षमा पुगेको उनको भनाइ छ ।
कुनै विरोध वा उजुरी नपरेको भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले मनोनयन फिर्ता लिन अनुरोध गरेकाले संविधानको मर्म र भावनाअनुसार ठूलो मन गरेर उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको थापाले उल्लेख गरेकी छन् ।
उम्मेदवारी फिर्ता लिए पनि आफ्नो सेवा भाव अन्त्य नहुने भन्दै उनले राजनीति भित्र वा बाहिर रहेर प्रविधि, उद्यमशीलता, युवा तथा महिलाको सशक्तीकरण र सुशासनका लागि निरन्तर काम गर्ने बताएकी छन् । सही समय र स्पष्ट कानुनी आधारसहित पुनः जनतासामु उभिने उनको प्रतिबद्धता छ ।