© 2026
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा एकजना उम्मेदवारले कालोसूचीबाट नाम हटाउन नसकेपछि उम्मेदवारी खारेज भएको छ। सार्वभौम नागरिक पार्टीकी उम्मेदवार कमलादेवी गुरुङको उम्मेदवारी खारेज भएको निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बुटवल टुडेलाई जानकारी दिए। उनका अनुसार गुरुङको उम्मेदवारी कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेका कारण भएको हो।
‘हामीले उम्मेदवारी दर्ता गर्ने दिन नै उहाँको उम्मेदवारी परेपछि तपाइँको नाम कालोसूचीमा रहेको छ, यसबारे टुंगो लगाउनुभएन भने उम्मेदवारी खारेज हुन्छ भनेर भनेकै थियौं, उनले भने-उहाँले ल्याउन सक्नुभएन त्यसपछि उम्मेदवारी खारेज भयो।’
विद्यमान कानुनमा सार्वजनिक ओहोदा वा लाभको पद वा अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय भोगिसकेको मितिले दुई वर्षसम्म भुक्तान नगरेको व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ ।
यस्तै, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि प्रतिनिधिसभाको उम्मेदवार बन्न मिल्दैन ।
साथै, संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको तथा अन्य कसुरमा पाँच वर्ष वा सोभन्दा बढी कैद सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्तिलाई पनि चुनावमा प्रतिस्पर्धा गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले निषेध गरेको छ ।
जातीय भेदभाव तथा छुवाछूत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको, कालोसूचीमा रहेको तथा कैद बसेको अवधिभर पनि उम्मेदवार बन्न नमिल्ने कानुनी व्यवस्था छ । विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त व्यक्ति पनि निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ ।