Butwal Today

तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

 सेयरबजारमा बिहीबार सुधार देखिएको छ ।

बुधबारको करेक्सनपछि साताको अन्तिम कारोबार दिन नेप्से ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको छ । यस दिन ९ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड ९० लाख कित्ता सेयर बिक्रीपछि यो परिमाणको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बिहीबार १६२ वटा सेयरको मूल्य बढ्दा ८८ वटाको मूल्य घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।

बढेकामध्ये एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युत् कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको थियो, जसले क्रमशः १५५.५०, १२७.१० र ३८.७० रुपैयाँ प्रतिकित्ता आम्दानी दिलाएको छ । यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९९ र एक्सेल डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशतले मूल्य बढेको छ ।

घटेकामध्ये कालिका पावर कम्पनी ६.२५ प्रतिशतले ओरालो लागेको छ भने सानिमा ग्रोथ फन्ड २.८०, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त २.२६, मैलुङ खोला जलविद्युत् २.२६ र गोर्खाज फाइनान्स २.२४ प्रतिशतले ओरालो लागेको छ ।

आज आखु खोला जलविद्युत्को ४० करोड रुपैयाँको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । त्यसैगरी मञ्जुश्री फाइनान्स ३५ करोड, एसवाई प्यानल ३२ करोड, बंदीपुर केबलकार २८ करोड र श्रीनगर एग्रिटेक २४ करोड रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल ९४ हजार १ सय ७४ पटक सेयर किनबेच भएका थिए । बिहीबारको कारोबारमा वाणिज्य बैंक, सामूहिक लगानी कोष र व्यापार समूह घट्दा बाँकी सबै समूहले मूल्य वृद्धि देखाएको नेप्सेले जनाएको छ ।