© २०२३
बुटवल । बीमा प्राधिकरणले रकम उपलब्ध नगराएपछि लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ।
अस्पतालले वर्षौदेखि बीमा बोर्डबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले बताए।
अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्ने जानकारी गराएको छ। डा. ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको २४ करोड ७१ लाख रुपैयाँ समेत प्राप्त भएको छैन। जसका कारण औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना भएको उनले बताए।
उनले कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको बताए। दैनिक करिब एक हजार पाँच सय सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत सेवा लिने सो अस्पतालमा दाबी रकम भुक्तानी नहुँदा आर्थिक संकट पर्दै गएको र आन्तरिक स्रोतले धान्न नसक्ने भएपछि बीमा कार्यक्रम स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको डा. ढकालले बताए।
अस्पतालले बीमा कार्यक्रम अन्तरगत उपचार सेवा उपलब्ध गराए अनुसार विभिन्न वर्षहरुमा गरी कूल ७३ करोड ४२ लाख दाबी गरेकोमा बीमा बोर्डले ५० करोड ५४ रुपैयाँमात्रै उपलब्ध गराउन स्वीकृत गरेको छ। जसमध्ये हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्रै रकम प्राप्त भएको छ ।
अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम विभागका प्रमुख दिपेन्द्र पौडेलका अनुसार बीमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गएपनि समयमा रकम उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको छ।
बीमा कार्यक्रमका लागि मात्रै अस्पतालमा ३९ जना कर्मचारीहरु कार्यरत रहेको विभागका प्रमुख पौडेलले जानकारी दिए। बीमा सेवालाई प्रभावकारी बनाउनका लागि फार्मेसी तथा फार्मेसी काउन्टरको संख्या वृद्धि, अटोमेटिक रिपोर्ट डिस्प्याच मेशिन जडान लगायतका कामहरु भएका छन्।
विभाग प्रमुख पौडेलका अनुसार अस्पतालले उपचार सेवा उपलब्ध गराएबापत दाबी गरेर पठाएको रकममा समेत बीमा बोर्डले आफुअनुकुल कटौती गरेर थोरै रकम मात्रै स्वीकृति गर्ने गरेको बताए।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दागर्दै पनि बीमा बोर्डले स्वीकृत गरेको रकम समेत नपठाउँदा सेवा नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए।
स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि प्रथम विन्दु (फर्स्ट कन्ट्याक पोइन्ट) घोषणा गरेपछि सेवाग्राहीको चाप थप वृद्धि भएको थियो।